बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

स्टकहोम- अमेरिकासँग हालै सम्पन्न भएको व्यापार सम्झौताले प्रारम्भमा केही तनाव कम भएजस्तो देखिए पनि, वास्तविक रूपमा यसले युरोपेली मुलुकहरूमा आर्थिक दबाब र दीर्घकालीन रणनीतिक चुनौतीहरू थपिएको स्विडेनका एक प्रख्यात विश्लेषकले बताएका छन् ।

स्विडेनस्थित बेल्ट एण्ड रोड संस्था (बीआरआईएस) का उपाध्यक्ष हुसेन अस्कारीका अनुसार, यो सम्झौता युरोपेली संघ (ईयू) ले इच्छाविपरीत गरेका सम्झौतामध्ये एक हो, जसबाट खास फाइदा नभएको देखिन्छ ।

सम्झौता अनुसार, अमेरिकाले युरोपेली वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क लागू गर्नेछ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेयरले यसलाई एक ‘सकारात्मक सहमति’ भनेका छन् ।

अस्कारी भने,“युरोपेली उद्योगहरू स्वतन्त्र र खुला व्यापार प्रणालीमा आधारित छन् ।  यस्तो शुल्क हामीलाई स्वीकार्य त भएको हो, तर रुचि भने पक्कै होइन ।”

उक्त सम्झौताअनुसार, युरोपेली संघले अब अमेरिकाबाट ७५० अर्ब डलर बराबरको ऊर्जा किन्ने र ६०० अर्ब डलरको लगानी अमेरिकाभित्र गर्ने प्रतिबद्धता जनाएको छ ।
उहाँका अनुसार, यस्तो सर्तहरूले युरोपका अत्यावश्यक सामाजिक र पूर्वाधार परियोजनाहरू बजेटमा कटौती गर्न बाध्य बनाएको छ ।

स्विडेन र जर्मनीजस्ता निर्यातमुखी अर्थतन्त्रहरूका लागि यस्तो व्यापारिक अनिश्चितता नकारात्मक असर पुर्‍याउने खालको छ । अस्कारी भने “हामीलाई दीर्घकालीन योजना, लगानी र व्यापारको निरन्तरताका लागि सामान, सेवा र पुँजीको स्वतन्त्र आदानप्रदान आवश्यक छ ।”

उनले अन्त्यमा भने “यस्ता नीतिगत अनिश्चितताले यूरोप–अमेरिका व्यापार सम्बन्धमा विश्वसनीयता घटाउने जोखिम पैदा गर्छ ।” (सिन्ह्वा)