बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

प्रेम फ्याकद्वारा महेन्द्रोदय माविको अक्षयकोषमा एक लाख ५० हजार रूपैँया प्रदान

इलाम- इलामको माङसेबुङमा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषमा भूतपूर्व विद्यार्थी डा. प्रेम फ्याकले एक लाख ५० हजार रूपैँया प्रदान गरेका छन् । अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन फ्याकले आफ्ना दिवंगत पिता टेकवीर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम प्रदान गरेका  हुन् ।

अक्षय कोषबाट प्राप्त हुने व्याजको रकमले वार्षिक रूपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने,शैक्षिक सामग्री वितरण गर्ने साथै विद्यार्थीहरूको शैक्षिक तथा खेलकुदको क्षेत्रमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक हरि बरालले बताए ।

विद्यालयको शैक्षिक गतिविधिमा दीर्घकालीन सहयोग पुगोस् र विद्यार्थीहरूको शैक्षिक प्रगतिमा सहयोग होस् भन्ने उद्देश्यले सो रकम प्रदान गरेको डा. फ्याकको भनाई छ । माङसेबुङ-१ गजुरमुखीमा अवस्थित उक्त विद्यालयको अक्षयकोष २०७४ सालमा स्थापना भएको हो । अक्षयकोषमा विभिन्न दाताहरूबाट संकलित तीन लाख ८० हजार रूपैयाँभन्दा बढी रकम रहेको छ ।