मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

विश्वव्यापी एआई मोडेल गणनामा चीन शीर्ष स्थानमा

साङ्घाई- चीनले एक हजार पाँच सय नौ ठूला कृत्रिम बुद्धिमत्ता (एआई) मोडल जारी गरेको छ । यो विश्वभरमा सबैभन्दा धेरै सङ्ख्या हो र हालसम्म सुरु गरिएका तीन हजार सात सय ५५ मोडलको पर्याप्त हिस्सा हो । यो जानकारी २०२५ विश्व एआई सम्मेलन (डब्लुएआइसी) मा प्रस्तुत गरिएको हो ।

चीनले आधारभूत पूर्वाधार र क्षेत्र–विशिष्ट अनुप्रयोगहरू समेटेर एक व्यापक एआई औद्योगिक प्रणाली स्थापना गरेको छ । चीन एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (सिएआइसिटी) को तथ्याङ्कअनुसार देशमा पाँच हजार एक सयभन्दा बढी एआई कम्पनी छन् ।

यी कम्पनीले विश्वभरका कुल कम्पनीको लगभग १५ प्रतिशत ओगटेका छन् । थप रूपमा, चीनमा ७१ एआई युनिकर्न कम्पनीहरू छन्, जसले विश्वका दुई सय ७१ युनिकर्नहरूको लगभग २६ प्रतिशत प्रतिनिधित्व गर्दछ ।

सिएआइसिटीका अध्यक्ष यु सियाओहुईले यस वर्ष नयाँ प्राविधिक दृष्टिकोणका साथसाथै आधारभूत ठूला मोडेलहरूको द्रुत पुनरावृत्तिले आर्टिफिसियल जनरल इन्टेलिजेन्सतर्फ अघि बढ्ने महत्त्वपूर्ण सम्भावना देखाएको बताए । चीनमा अग्रणी कम्पनीहरू, उदीयमान युनिकर्नहरू, विशेषज्ञ फर्महरू र नयाँ स्टार्टअपहरूद्वारा विशेषता भएको सकारात्मक विकास परिदृश्य आकार लिएको उनले बताए ।

सूचीबद्ध कम्पनीहरू र युनिकर्नहरू चीनको एआई उद्योगका लागि प्रमुख इन्जिनका रूपमा पहिचान गरिएका छन् । चीनमा तीन सयभन्दा बढी एआई–सम्बन्धित सूचीबद्ध कम्पनीहरू छन्, जसको एआई–सम्बन्धित राजस्व देशको कुल एआई उद्योग मापनको लगभग ७० प्रतिशत हो । 

चिनियाँ एआई युनिकर्नहरूका शीर्ष पाँच नवीनता क्षेत्रहरू ठूला मोडल, स्वायत्त ड्राइभिङ, बुद्धिमान रोबोट, व्यापारिक बुद्धिमत्ता अनुप्रयोग र एआई कम्प्युटिङ चिपहरू हुन् ।

युले चीनको एआई उद्योग निरन्तर नयाँ प्रविधि, अनुप्रयोग र व्यापारिक मोडलहरूको धाराले प्रेरित भएर द्रुत रूपमा विस्तार भइरहेको बताए । उनका अनुसार यो उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासको लागि मुख्य वृद्धि चालक बनेको छ ।

साङ्घाईमा एकसाथ आयोजित ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्च–स्तरीय बैठकसँगै ‘एआई युगमा विश्वव्यापी एकता’ शीर्षकको तीन दिने डब्लुएआइसी समापन भयो । बैठकमा ४० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूका उच्च–स्तरीय प्रतिनिधिहरूलाई एकत्रित भएका थिए । (सिन्ह्वा)