मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनएमबि बैंक लिमिटेडले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुने माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ। मन्दाकिनी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २.९ मेगावाट क्षमताको उक्त आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहनेछ।

कुल लागत करिब ६६ करोड १८ लाख रुपैयाँ अनुमान गरिएको आयोजनामा बैंकले ४६ करोड ३३ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले आयोजना लागत र समयसीमाभित्रै सम्पन्न गर्न आग्रह गर्दै मन्दाकिनी हाइड्रोपावरलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कम्पनीका अध्यक्ष शरद कुमार दाहालले भने आयोजनाको वित्तीय व्यवस्थापनमा सहयोग पुर्‍याएकोमा एनएमबि बैंकलाई धन्यवाद दिएका छन्।

उक्त आयोजना सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता समेत अध्यक्ष दाहालले जनाएका छन्। यसअघि नै मन्दाकिनी हाइड्रोपावरले प्रवर्द्धन गरेको ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना मंसिर २३, २०७४ बाट व्यावसायिक उत्पादनमा आइसकेको छ, जसमा पनि एनएमबि बैंकको सहवित्तीयकरण अन्तर्गत ऋण लगानी रहेको छ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार वातावरणीय तथा सामाजिक नीति लागू गर्दै आएको छ। सोही अनुसार बैंकले Environmental and Social Management System समेत स्थापना गरिसकेको छ। यसले आयोजना निर्माण तथा सञ्चालनका क्रममा हुने वातावरणीय तथा सामाजिक जोखिमको न्यूनिकरणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।