सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

खाँदबारी (सङ्खुवासभा)- सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन ।

 स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ । राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताए । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ ।

 बाबुबाजेको पालादेखि पूजा हुँदै आएको यो पोखरीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्ने प्रयास भइरहेको स्थानीय धनराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पोखरीसम्मको बाटो मर्मत गरिएको छ । साथै, भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको । अब मन्दिर निर्माण गर्ने योजना रहेको राईले बताए ।–