सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । 

मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पारे । उनले भने , “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढोेस् । सरकार समन्वय गर्न तयार छ । निजी क्षेत्र अघि बढ्यो भने मात्रै परिणाम आउन सक्छ । हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ ।” मन्त्री पाण्डेले २०७२ सालमा संविधान जारी भएसँगै सोही अनुरुप सङ्घीयता कार्यान्वयन गर्नका लागि मन्त्रालय नीतिगत रुपमा अघि बढेको बताए।

संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३  ऐनसमेत अघि बढिसकेको बताउनुभयो । विसं २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै नयाँ पर्यटन नीतिमा अद्वितीय पर्यटकीय गन्तव्य नेपाल भन्ने शब्दावली नै नीतिको संरचना दूरदृष्टिका रुपमा राखेको उहाँले बताउनुभयो । मन्त्री पाण्डेले पर्यटन नीतिसँग तादात्म्य हुनेगरी ऐन र नियमावली बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।

 मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नीतिको उद्देश्य र प्राथमिकताबारे प्रस्तुतीकरण गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि समयानुकूल नीतिगत सुधार गर्नुपर्ने विषयलाई समेटेर नीति ल्याइएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बनाउने गरी नीति अवलम्बन गरिएको उल्लेख गर्नुभयो ।