सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

रसुवा- गोसाइकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार यसरी डुबेर मृत्यु हुनेमा बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र  विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन् । हिजो आइतबार पवित्र कुण्डमा स्नानका क्रममा बेपत्ता भएका दुवै जनाको शव आज निकालिएको छ ।
 
नेपाली सेनाको श्रीनाथगण, जिल्लास्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीसहित स्थानीय होटल व्यवसायी समेतको सहयोगमा शव निकालिएको प्रहरी प्रमुख शाहीले जानकारी द्रिए । प्रतिकूल मौसमका कारण आज काठमाडौँबाट हेलिकोप्टर उड्न नसक्दा शवपरीक्षणका लागि राजधानी लैजान समस्या परेको प्रहरीले जनाएको छ । मौसम सफा रहेमा भोलि मङ्गलबार बिहान काठमाडौँतर्फ शव लैजान आवश्यक व्यवस्था गरिएको सिम्रिक एयरले जनाएको छ ।
 
समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तालमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा कडा चिसो पानीको असरले रन्थनिएर लड्न गई डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयको भनाइ छ ।  एक जना लडेपछि अर्को साथीले समात्न खोज्दा  दुवैको ज्यान गएको समेत आकलन गरिएको छ ।