सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

टीकापुर ।  टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख आम्दानी गर्नुभएको छ । उहाँले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गर्नुभएको थियो । 

“समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन”, उहाँले भन्नुभयो, “एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।”

धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहनुभएको छ । चौध वर्षदेखि केराखेतीमा संलग्न उहाँले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आउनुभएको छ । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ । 

“आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न सहयोग गर्ने गरेको छु”, धामीले भन्नुभयो । 

केराखेतीबाट मनग्य आम्दानी हुने गरेको थाहा पाएपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ । “आफ्नो जमिन सदुपयोग र बाँकी जमिन भाडामा लिएर खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।”

किसानले असारमा केरा रोप्ने गर्दछन् । वर्खा याममा केरा अभाव हुन्छ । धामी उचित मूल्य पाउन किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउनुहुन्छ । “हरेक किसानले असारमा केरा रोप्ने चलन छ । यसपटक मैले मङ्सिरमा केरा रोपे, यो केरा साउनमा उत्पादन हुन्छ, तर मल नपाएर समस्या भएको छ”, धामी भन्नुहुन्छ, “वैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ ।”

धामीले केरा खेतीमा बहुबाली खेती गरिरहनुभएको छ । “केराभित्र तोरीखेती गरेर २४ क्विन्टल फल्यो, अहिले केराबारीमा खुर्खानी लटरम्म फलेको छ”, उहाँले भन्नुभयो, “कामदार अभावले टिप्न सकेको छैन । केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ ।”

धामीसँग नियमित १२ कामदारले रोजगार पाएका छन् । त्यसबाहेक अन्य याममा ज्यालादारीमा कामदार लगाउने गरिएको छ । “प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन”, उहाँ भन्नुहुन्छ, “बाली बिमामा समस्या छ । तोकिएका कम्पनी बिमा गर्न मान्दैनन् । बिमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ । अहिले मैले रु ५० लाखको मात्र बिमा गरेको छु । निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ । बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ ।”

अहिले कैलालीका किसानले बारीमा प्रतिदर्जन रु ४० देखि रु ४५ मा केरा बिक्री गरिरहेका छन् । तर बजारमा रु ८० भन्दाबढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् । मूल्य बीचका बिचौलियाले पाइरहेको अवस्था छ । नेपालमै केराखेतीको उर्बर भूमिका रुपमा चिनिने टीकापुरमा केराखेती गर्न चाहने किसानले यसवर्ष भने  समयमै बेर्ना पाएनन् । 

आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउनुहुन्छ । “आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ । बजारीकरणका लागि आवश्यक क्यारेटलगायत सामग्री उपलब्ध गराउने गरेको छ”, कृषि अधिृकत ठाकुर भन्नुहुन्छ, “आयोजनाको दोस्रो चरणमा दुई सय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ । यसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ ।”

आयोजनाले आयोजना क्षेत्रका छ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ । आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो । आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीमा आकर्षित भएका छन् । आयोजना प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउनुहुन्छ । 

“युवा कृषिमा लाग्नु राम्रो पक्ष हो । किसान केरामा आत्मनिर्भतातर्फ गएको देखिन्छ”, उहाँ भन्नुहुन्छ, “केराबाट पर्याप्त आम्दानी लिन सकिन्छ । केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ ।” आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन् । तेस्रो चरणमा केरा किसानलाई सघाउने कार्यक्रम तथा बजार विस्तारका लागि सहजीकरण गर्ने गरेको प्रमुख कँडेलको भनाइ छ ।