सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

काठमाडौं– झण्डै एक दशकपछि स्वीडेन निवासी प्रतिभाशाली गायक शक्ति लामा नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् । गायक लामाको नयाँ गीत ‘सल्लाघारी सुसायो हावैले’ सार्वजनिक भएको छ ।

लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएका गायक लामा भन्छन्– ‘यो गीत केवल एक सांगीतिक सिर्जना मात्र होइन, भावनाको गहिरो प्रवाह हो, जुन प्रेम, विछोड, सम्झना तथा आत्मीयतासँगै गुँजिएको छ ।’

यस गीतमा चर्चित संगीतकार तथा गायक अजित घिसिङ तामाङ तथा लोकप्रिय गायिका एलिना चौहानको उत्कृष्ट सहकार्य रहेको छ ।

शक्ति लामाको स्वदेशप्रतिको मायाले भरिएको यस गीतलाई अजित घिसिङ तामाङले संगीत, एरेञ्ज तथा व्यवस्थापन गरेका छन् भने एलिना चौहानको भावपूर्ण आवाजले गीतलाई अझ गहिरो बनाएको छ ।

‘सल्लाघारी’ नेपाली लोक भावनामा आधारित आधुनिक गीत हो, जसले हामीलाई स्मृतिको कुनामा पुर्याउँछ । ‘सल्लाघारी’ मा प्रयोग भएका धुनहरू नेपाली मौलिकतालाई समेट्दै आधुनिक प्रविधिको संयोजनमा तयार पारिएको छ ।

संगीतकर्मी अजित घिसिङ तामाङले संगीत संयोजन तथा स्वरमार्फत गीतमा गहिरो आत्मीयता भरेका छन् । शक्ति लामाको आवाजमा रहेको प्राकृतिक मिठास तथा एलिना चौहानको भावनात्मक गायनको मेलले यो गीतलाई सुन्ने जो–कोहीको मन छुने अपेक्षा गर्न सकिन्छ ।

मिक्सिङ तथा मास्टरिङको काम कुमार केसीले मा गरेका छन् भने संगीत रेकर्डिङदेखि अन्तिम प्रशोधनसम्म सबै पक्षलाई सन्तुलित ढंगले प्रस्तुत गरिएको छ ।

गीतको भिडियो निर्देशनमा नितिन चन्दको अनुभवी निर्देशन रहेको छ । भिडियोको कथा प्रेम, सम्झना तथा विछोडको वरिपरि घुम्दछ । नेपाली पहाडी भू–दृश्यलाई पृष्ठभूमिमा राखेर खिचिएको भिडियोले दर्शकलाई भावनात्मक यात्रा गराउँछ। दृश्यको सौन्दर्य र गीतको भावनात्मकता एक–आपसमा समाहित भएर भिडियोलाई सम्पूर्ण बनाएको छ।

भिडियोमा विशाल जब, प्रशंसा भट्ट, शीर्ष खड्का तथा सुह्मा घिमिरेको अभिनय रहेको छ, जसले गीतको कथा जीवन्त बनाएको छ । कोरियोग्राफर उत्सा राईले नृत्य र भावको समन्वय प्रस्तुत गरेकी छिन् ।

भिडियो सम्पादन, रङ संयोजन तथा पोस्टर डिजाइन शौखिन तिमल्सिनाले गरेका छन् । मेकअप आर्टिष्ट एकता भण्डारीको मेकअप, चिरञ्जीवी पौडेलको सह–निर्देशन, रोहित सिंहको सहायक निर्देशन तथा दिपेन्द्र भट्टराईको व्यवस्थापनसहितको टीमवर्कले भिडियो निर्माणलाई सशक्त बनाएको छ।

गायक शक्ति लामा भन्छन्– ‘यो गीत मेरो आत्मासँग जोडिएको कथा हो । धेरै वर्षपछि नेपाली संगीत क्षेत्रमा फर्किन पाउँदा हर्षित छु । सल्ला घारी मेरो मनको गहिरो भावना हो, जुन अब सबैसँग बाँड्न चाहन्छु । यो केवल पुनरागमन होइन, संगीतसँगको पुनर्मिलन पनि हो, सम्झनासँगको भेट पनि हो ।’

शक्तिको स्वरमा रहेको सरलता र आत्मीयता श्रोतामाझ उनको छुट्टै पहिचान हो । दश वर्षको अन्तरालपछि आएको यो गीत केवल एउटा साङ्गीतिक प्रस्तुतिमात्र होइन, यो एक भावनात्मक पुनर्जन्म हो।

‘सल्लाघारी’ गीतले नाच्ने इच्छा जगाउने छ, सम्झनामा भिजाउने भने एकपटक फेरि नेपाली मौलिक संगीतलाई आत्मसात गराउने छ ।

यस गीतको सार, धुन तथा भिडियो समग्रमा नेपाली गीत–संगीतको उचाइ बढाउने एउटा प्रयास भएको गायक तथा संगीतकार अजित घिसिङको भनाइ छ । घिसिङका अनुसार डिजिटल यूगमा जाँदै गर्दा मौलिकता जोगाउँदै आधुनिक ढंगले प्रस्तुत गरिएको यो गीत सम्पूर्ण नेपाली श्रोतामाझ एक भावनात्मक उपहार हो ।