सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

चितवनमा लोडसेडिङ गरेको भन्दै चौतर्फी विरोध, कहिले हुन्छ समस्या समाधान ?

चितवन- रोपाइँको याममा खडेरी परेपछि मोटरबाट पानी तान्ने, गर्मीका कारण एयरकण्डिसन, पङ्खालगायत विद्युतीय सामग्रीको उपभोग अत्यधिक बढ्दा चितवनमा विद्युत् भार व्यवस्थापन गर्न कठिन भएको छ । 

मुख्य गरी पश्चिम चितवनको चनौली सवस्टेशनमार्फत वितरण गरिएको विद्युत्मा बढी भार परेको हो । विद्युत् भार बढेसँगै नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापनका लागि केही दिन आलोपालो विद्युत् मिलाएर भार व्यवस्थापनको काम थालेको छ ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जीतेन्द्रकुमार झाका अनुसार प्राविधिक काम भइरहेकाले यही साउन १५ गतेभित्र काम सम्पन्न गरी भारको समस्या समाधान हुने बताए ।
 
डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडानको काम सोमबारसम्म सकिने जानकारी दिए । विद्युतको समस्या भरतपुर र माडीमा मात्रै नभएर पूर्वी चितवनका टाँडी, पर्सा भण्डारा लगायतका क्षेत्रमा रहेको उनले बताए । हर्दी स्टेशन चलेपछि चितवनका विभिन्न क्षेत्रमा देखिएको समस्याको धेरै समाधान हुने उनले जानकारी दिए । 

प्रमुख झाले भने, “हामी हर्दी स्टेशनबाट विद्युत् दिएर भरतपुर, पर्साको लोड घटाउने र हर्दीबाट भरतपुरको  देवनगर सवस्टेशनमा विद्युत् पठाउने काममा लागि रहेका छौँ ।” देवनगर स्टेशन ३३ केभिएबाट सिधैँ जगतपुरमा लाइन सप्लाई गरेर अहिले भइरहेको चनौलीको लोडलाई कम गराउने उनले बताए ।
 
यो तत्कालिन समस्या समाधान गरेर दीर्घकालीन रुपमा भरतपुर–चैनपुर ३३ केभिएको काम सम्पन्न गरेर समाधान गरिने झाले बताए । सो आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उहाँले छ महिनाभित्रमा काम सम्पन्न भएर दीर्घकालीन समाधान हुने बताए ।

उनले भने, “हामीले लोडसेडिङ गरेका होइनौँ, केही दिनका लागि लोड व्यवस्थापन र लाइन विस्तारका लागि आलोपालो मिलाएका हौँ ।” तार तान्ने र मर्मतको काम भइरहेको भन्दै प्रमुख झाले अन्य विपत्ति नआएमा साउन १५ गतेबाट जिल्लाको विद्युत्को समस्या समाधान हुने बताए ।
 
शनिबार नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा आलोपालो विद्युत् तालिका सार्वजनिक गरेपछि चौतर्फि आलोचना भएको छ । ‘लोडसेडिङ'को तालिका सार्वजनिक गरेको भन्दै सर्वसाधारणले विरोध जनाएका छन् ।