शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजीनामा

मकवानपुर-  बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध सो पार्टीका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । यस प्रदेशसभामा कांग्रेसका ३७ जना सदस्यमध्ये २१ जनाले दलका नेता लामाविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले जानकारी दिए । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बानियाँले मुख्यमन्त्री लामा नेतृत्वको सरकारले एक वर्षको समयमा कुनै ठोस काम गर्न नसकेको, विकास निर्माणका काम प्रभावकारी नभएको, आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणमा गठबन्धन दलहरू र प्रतिपक्षी दलहरूसमेत असन्तुष्ट रहेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।

कांग्रेसका चार मन्त्रीद्वारा राजीनामा 

यसैबीच मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए । उनका अनुसार आफूसहित संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री लामासमक्ष राजीनामा दिएका हुन् ।