गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

लुम्बिनी- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ आयोजित अन्तरराष्ट्रिय छात्राबास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा लुम्बिनीलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।
रुपन्देहीको देवदहमा करिब रु ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजनाको अर्थमन्त्रीले पौडेलले आज सार्वजनिक गरेका हुन् । विश्वविद्यालयलाई २०७७ सालमा सरकारले करिब ९२ बिघा जमिन देवदहमा भोगाधिकारका लागि दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत असार ३२ गते बसेको अठौँसभा बैठकले स्वीकृत गरेको थियो ।
सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले आज सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताउनुभयो । “गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ”, उनले भने , “सरकार विश्वविद्यालयको क्षमता विकासमा सहयोग गर्न सधैँ तत्पर छ ।”
विसं २०५१ मा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले अहिले विश्वविद्यालयको स्वरुपमा पुगेकामा खुसी व्यक्त गर्नुभयो । “यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुनसक्छ”, उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पु¥याउनुपर्छ ।”
बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय थप प्रभावकारी रूपमा अघि बढेको उहाँको भनाइ थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतमबुद्धका रूपमा ‘ब्राण्डिङ’ गरी त्यसको फाइदा उठाउँदै अन्तरराष्ट्रियस्तरमा फैलाउन निर्देशन उहाँले विश्वविद्यालय परिवारलाई निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री पौडेलले रु ८० अर्बको गुरुयोजनाका मूर्तरुप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिए । पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले सहकार्य र समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।
सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकामा चिन्तासमेत व्यक्त गर्नुभयो । “बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन”, उनले भने , “यस्ता संस्थालाई पूर्णता दिन नेतृत्वतह इमान्दार हुनुका साथै संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दछ ।” उपप्रधानमन्त्री पौडेलले देशका ठूला आयोजना क्रमशः बन्दै गइरहेका भन्दै त्यसको संरक्षण, प्रवर्द्धन र सरसफाइमा हरेक नागरिक लाग्नुपर्ने बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताउनुभयो । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजनालगायत परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । उहाँले देवदह गुरुयोजनाको सपना शीघ्र पूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पु¥याउनुभएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धान सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताउनुभयो ।
देवदहको जग्गा प्राप्तिमा भएको कठिनाइ स्मरण गर्दै उहाँले गुरुयोजना कार्यान्वयन हुँदा मुलुकको नमूना विश्वविद्यालयका रूपमा स्थापित गराउन सकिने धारणा राख्नुभयो । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रूपमा रहेको बताउनुभयो । उहाँले लुम्बिनीको समग्र विकासमा सङ्घीय सरकारको विशेष चासो र सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
विश्वविद्यालयले रुपन्देहीको खडैयामा रु १२ करोड ८३ लाखको लागतमा एक सय विद्यार्थी बस्ने क्षमताको अन्तरराष्ट्रिय छात्राबास (होस्टेल) निर्माण गर्न लागेको छ । सो छात्राबास निर्माण २० महिनाभित्र सकिने अपेक्षा गरिएको छ । विश्वविद्यालयमा हाल करिब दुई सय विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…

प्रतिक्रिया