बिकाजी फुड्स र चौधरी ग्रुपबीच संयुक्त लगानीमा सम्झौता

नेपाली बजारमा भारतीय स्वाद ल्याउन बिकाजी फुड्स र चौधरी ग्रुपबीच संयुक्त लगानी सम्झौता भारतको एक प्रमुख परम्परागत नास्ता ब्राण्ड बिकाजी फूड्स इण्टरनेशनल लिमिटेड (बिकाजी)ले नेपालको प्रमुख व्यावसायिक समूह चौधरी ग्रुप (सीजी)सँग संयुक्त उद्यम र सेयरधनी सम्झौतालाई स्वीकृति दिएको छ।
यो साझेदारीलाई बिकाजीको नेपालमा ब्राण्ड सुदृढ गर्ने प्रतिबद्धता अनि अन्तर्राष्ट्रिय विस्तार रणनीतिमा एउटा महत्त्वपूर्ण कदम मानिएको छ । सहकार्य नेपाली बजारमा बिकाजीका उत्पादहरू जस्तै: भुजिया, नमकिन, पापड, प्याकेज्ड मिठाई अनि अन्य नास्ताहरूको उत्पादन, व्यापार र प्रवर्द्धन गर्नमा केन्द्रित हुनेछ। दुवै कम्पनीको अनुभवलाई जोडेर नेपाली बजारमा विस्तार गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ।
सम्झौताअनुसार संयुक्त कम्पनीमा बिकाजी र सीजी फूड्सको समान स्वामीत्व (५०:५०) रहनेछ। दुवै पक्षले चरणबद्ध रूपमा पुँजी लगानी गरेर नेपालमै अत्याधुनिक उत्पादन केन्द्र बनाउनेछन् जसबाट उपभोक्ताहरूलाई छिटो र शुद्ध परम्परागत स्वादयुक्त नास्ता तथा मिठाईहरूको अनुभव मिल्नेछ। संयुक्त उद्यमले बिकाजीको परम्परागत नास्ता बनाउने अनुभवलाई चौधरी ग्रुपको बजार बुझाइसित जोडेर नेपालको एफएमसीजी (छिटो चल्ने उपभोक्ता सामग्री) क्षेत्रमा नयाँ उँचाइ दिने बिकाजी फूड्स इण्टरनेशनलका म्यानेजिङ डाइरेक्टर दीपक अग्रवालले बताए ।
सीजी ग्रुपको सशक्त नेतृत्व र स्थानीय बुझाइसित नेपाली उपभोक्तालाई गुणस्तरीय र किफायती उत्पाद दिन सक्षम हुने उनको विश्वास छ । यसैगरी, सीजी फूड्स नेपाल लिमिटेडका निर्देशक वरुण चौधरीले सहकार्यले नेपालमा उच्च स्तरीय खाद्य नवप्रवर्तन ल्याउने आफूहरूको प्रतिबद्धता पुनः पुष्टि गरेको बताए। बिकाजीसित साझेदारीले उत्पादको उत्कृष्टतासितै रोजगार सिर्जना, आपूर्ति सञ्जाल दह्रो पार्ने अनि नेपालको खाद्य क्षेत्रलाई गति दिने दीर्घकालीन उद्देश्य बोकेको उनको भनाइ छ ।

३१औं कार्गो दिवस सम्पन्नः लजिस्टिक सशक्तीकरणमा बहस, नीति सुधार र बीबीआईएन कने…

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

प्रतिक्रिया