बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

सांकेतिक तस्विर

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा किसान घोषणापत्र २०८२’ जारी गरेको छ । यही साउन ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा सञ्चालन गरिएको ‘प्रथम राष्ट्रिय युवा किसान मञ्चः युवा किसान क्याम्प’ले आज सो घोषणापत्र जारी गरेको हो ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा कृषि पेसालाई व्यवसायीकरण, वैज्ञानिकीकरण, सहकारीकरण र औद्योगिकीकरणमार्फत कृषि क्षेत्रको समग्र विकास, किसानको हकहित र अधिकारीको सुनिश्चिततालगायत विषय समेटिएको छ ।

घोषणापत्रमा किसानको शोषण गर्ने नवउदारवादी नीति, किसानविरुद्धका बहुराष्ट्रिय नियमहरु र कृषि क्षेत्रमा भएको वैदेशिक हस्तक्षेपको विरोध, किसानको एकता र अग्रगमनका पक्षमा दृढ प्रतिबद्धतालगायत विषय पनि समेटिएका पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कीर्तिपुरमा सम्पन्न उक्त क्याम्पमा सातवटै प्रदेशका युवा किसानको सहभागिता थियो ।