बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

बेलायत - अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’ मा आयोजित एक समारोहमा सम्मानित भएकी छन् । महिला सशक्तिकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् । 

सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तिकरण र महिला स्वास्थ्य, पुनर्जीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताए । 

सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तिकरणमा काम गर्न प्रेरणा मिलेको बताइन् । महिलाको सशक्तिकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिइन् ।

‘यो क्षण म जीवनभर सम्झिरहने छु’,  उनले भनिन्, ‘यो साँच्चीकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तिकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।’ 

बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाँचिरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उनको भनाइ छ । दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरिन् ।

शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको स्मरण गरिन् । आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिईले हाउस अफ लर्डस्मा सम्मानित हुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जानकारी दिए ।

दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तिकरणमा उनले पुर्‍याएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तिकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।