मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको आग्रह

जेनेवा- संयुक्त राष्ट्रका स्वतन्त्र विशेषज्ञहरूले अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेका एक वृद्ध ब्रिटिश दम्पतीलाई लामो समयदेखि बिना आरोप थुनामा राखिएको भन्दै उनीहरूको स्वास्थ्य संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । आवश्यक चिकित्सकीय उपचार नपाएम उनीहरूको जीवन जोखिममा पर्न सक्ने भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

पीटर रेनॉल्ड्स (८०) र उनकी पत्नी बार्बी (७५) लाई फेब्रुअरीदेखि बिना कुनै औपचारिक आरोप अफगानिस्तानमा थुनामा राखिएको छ । उनीहरू सन् १९७० मा काबुलमा विवाह गरेका हुन् र करिब दुई दशकदेखि त्यहीँ निरन्तर बसोबास गर्दै आएका छन् ।

विशेषज्ञहरूले उहाँहरू पाँच महिनाभन्दा बढी समयदेखि उच्च सुरक्षा जेलमा राखिएका बताएका छन् । केही समयदेखि भूमिगत कोठामा पनि छन्, जहाँ सूर्यको प्रकाश समेत पुग्दैन ।
उनको शारीरिक र मानसिक स्वास्थ्य द्रुत रूपमा बिग्रँदै गएको र आवश्यक उपचार नपाएमा अपूरणीय क्षति वा मृत्यु हुन सक्ने खतरा रहेको बताइएको छ ।

पीटरलाई दुई वर्षअघि सानो स्ट्रोक लागेको थियो र उनी मुटुको औषधिमा छन् । उनले दुई पटक आँखा संक्रमण भोगेका छन् । टाउको र बाँया हातमा झटका आउने समस्या छ भने हालै उनी बेहोस भएका थिए । उनकी पत्नी बार्बीलाई खुट्टामा सुन्निने समस्या देखिएको छ ।

संयुक्त राष्ट्रका मानवअधिकार सम्बन्धी विशेष प्रतिवेदनकर्ताहरूले उनीहरूलाई तत्काल नागरिक अस्पतालमा सारेर आवश्यक उपचार प्रदान गर्न आग्रह गरेका छन् ।
रेनॉल्ड्स दम्पतीले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूलाई चीन–अमेरिकी साथी फे हाँल र अफगान अनुवादकसँगै बामियान प्रान्तमा घर फर्किँदै गर्दा थुनामा राखिएको थियो ।

विशेषज्ञहरूले भनेका छन्,“हामीलाई उहाँहरूलाई थुनामा राख्नुको कुनै औचित्य देखिँदैन र थुनाको आधारको तत्काल समीक्षा आवश्यक छ । यसरी जोखिमपूर्ण र असम्मानजनक अवस्थामा राख्नु अमानवीय र चिन्ताजनक छ ।” (एएफपी)