सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

भेरीगङ्गा (सुर्खेत)- सुर्खेतमा गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा डेंगुका कारण चार जनाको मृत्यु भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेतमा गत आवमा एक हजार ८३७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा चार जना मृत्यु भएको हो । 

जनस्वास्थ्य सेवा कार्यालयका डेंगु रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीले यहाँ रहेक वर्ष सङ्क्रमणको जोखिम बढ्दै गएको बताए । आव २०७७/७८ मा ६३९ जना सङ्क्रमित भएकामा २०७८/७९ मा त्यो सङ्ख्या बढेर एक हजार ३२२ पुगेको र आव २०७९/८० मा एक हजार ४८४ जना सङ्क्रमित भएका उनले जानकारी दिए । 

आव २०८०/८१ मा भने सङ्क्रमण केही घरेको थियो । त्यस वर्ष ५७१ जनामा सङ्क्रमण देखिएको थियो । 

तीन नगरपालिका उच्च जोखिममा
यहाँका वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका डेंगुको उच्च जोखिममा छन् । जोखिमलाई मध्यनजर गरी ती क्षेत्रहरूमा सचेतना अभियान तीव्र पारिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । विशेषगरी साउनदेखि कात्तिक महिनासम्मलाई सङ्क्रमणको संवेदनशील समय मानी ‘सचेतना महिना’का रूपमा कार्यक्रमहरू सञ्चालन गरिने सम्पर्क व्यक्ति बिसीले बताए । 

“प्रत्येक शुक्रबार ‘सरसफाइ शुक्रबार’ नारासहित कार्यालय, विद्यालय र सामुदायिक ठाउँमा सरसफाइ तथा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गरिने योजना रहेको उनले सुनाए ।  

स्थानीयले यस अभियानमा समुदायलाई सँगसँगै अगाडि बढाउन आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले सहरका व्यावसायिक क्षेत्रहरूमा सरसफाइको ख्याल नगरेसम्म सङ्क्रमण नघट्ने भन्दै निजी क्षेत्रले पनि अभियानमा हातेमालो गर्ने बताए । 

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका उपाध्यक्ष सुशील खड्काले सचेतना अभावले महामारीको रूप लिन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । उनले सञ्चारकर्मीहरूले जनचेतना अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । 

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी प्रमुख करुणा भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने बताए । यसका लागि टोल विकास समिति, नागरिक समाज र विद्यालयहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम विस्तार गरिने कार्ययोजना बनाइएको उनले जानकारी दिए ।