शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

काठमाडौँ- सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरुले पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन सुझाव दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य, रसुवा हिमवाढी एवं समग्र विपद् व्यवस्थापनका सन्दर्भमा राजनीतिक दलहरुसँग आज आयोजना गरेको अन्तरक्रियामा नेताहरुले विपद् जोखिम न्यून गर्न जागरण अभियान तथा स्वयंसेवकीय भूमिका निर्वाह गर्न आफ्ना पार्टीहरु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले विपद् पश्चात नागरिकले सरकार छ भन्ने भरोसा खोज्ने भएकाले प्रतिकार्यलाई गम्भीरतापूर्वक लिएर तयारी गर्न सुझाव दिनुभयो । उहाँले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) को विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले रसुवा बाढीमा सरकार, प्राधिकरण र सुरक्षा निकायले राम्रो प्रतिकार्य गरेको उल्लेख गर्दै उद्धार जनशक्तिलाई तालिम एवं खोज तथा उद्धार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) को विपद् व्यवस्थापन विभागका प्रमुख सूर्य सुवेदीले राजनीतिक पार्टीलाई विपद् व्यवस्थापनमा संलग्न गराउन सरकार र प्राधिकरणले पर्याप्त पहल गर्नुपर्ने औँल्याउँदै प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय मातहत राखी साधनस्रोत र अधिकार सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ¥यापिड एक्सन टोलीका प्रमुख साजन शमाले विपद् पूर्वतयारी तथा व्यवस्थापनलाई नियमित तालिकाका रुपमा लिन सुझाव दिँदै सूचना प्रवाहलाई तीव्र बनाउन र आवश्यक सामग्रीको भण्डारका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले विपद्मा जनताले राज्यको अभिभावकत्व खोज्ने भएकाले पूर्वतयारी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रमान श्रेष्ठले सबै नागरिकले विपद्मा जोगिन तालिम लिने वातावरण बनाउन सुझाव दिँदै विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा नेपालमा हुने विपद्बाट जोगिने उपायसम्बन्धी विषयहरु राख्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता एवं मधेस प्रदेशसभाका सदस्य मनिषकुमार सुमनले मधेसमा सुक्खाका कारण अकालको अवस्था सिर्जना हुने खतरा बढेको उल्लेख गर्दै विपद्मा जनताले आफ्ना आफन्त र छिमेकीपछि राजनीतिक नेता–कार्यकर्तालाई खोज्ने गरेको अनुभव सुनाउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रसुवा बाढीमा बर्दियाका पाँच युवा बेपत्ता भएको जानकारी दिँदै सीमा क्षेत्रमा बनेका बाँधका कारण तराईमा डुबान हुने भएकाले समयमै बाँध खोल्न प्राधिकरणले पहल गर्नुपर्ने बताउनुभयो । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विपद् व्यवस्थापनमा राज्यको विशेष जिम्मेवारी हुने भएकाले नीतिगत अवरोध फुकाउन सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रममा सहभागी सबैजसो नेताले जोखिम हस्तान्तरणका लागि बिमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने प्राधिकरणको धारणामा समर्थन गर्दै बिमा दिगो समाधानको उपाय भएको बताउनुभयो ।

छलफल कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्टले मनसुन प्रतिकार्य प्राधिकरणको मुख्य प्राथमिकता रहेको जानकारी गराउँदै विपद्पश्चातको पुनर्निर्माण, नीतिगत तथा संरचनागत सुधार, पूर्वसूचना प्रणालीको विश्वसनीयता वृद्धि, विपद्को मूलप्रवाहीकरण, स्वयंसेवकको तालिमलगायतमा काम गरिरहेको बताउनुभयो ।

सहसचिव अर्जुनकुमार बमले रसुवा हिम–बाढीलगायत मनसुन सुरु भएपछिका मुख्य प्रतिकार्यहरु, विपद् पश्चातको पुनःनिर्माण एवं नीतिगत तथा संरचनागत सुधारमा राजनीतिक दलहरुबाट प्राधिकरणले गरेको अपेक्षालगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । सहसचिव रोशनीकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
–––