शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

दक्षिण एशियाली किचेनवेयर बजारमा ६० वर्षभन्दा लामो अनुभव बोकेको ‘विनोद कुकवेयर ईन्डिया’ले नेपालका सुप्रसिद्ध महिला पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई आफ्नो ब्रान्ड एन्डोर्सर नियुक्त गरेका छन्। “आइरन लेडी का नामले परिचित श्रेष्ठलाई नियुक्त गर्दै कम्पनीले आफ्नो उत्पादनको विश्वसनीयता, गुणस्तर र दृढताको प्रतिनिधित्व गर्न खोजेको जनाएको छ।

नेपालमा विनोद कुकवेयरका उत्पादनहरू इन्टरनेशनल डिस्ट्रीब्युटर्स प्रा.लि.  (IDPL नेपाल) मार्फत भाटभटेनीसँगको सहकार्यमा देशभर उपलब्ध छन्। वितरण सञ्जाललाई सशक्त बनाउँदै नेपाली बजारमा ब्रान्डको पहिचानलाई थप व्यापक बनाउन कम्पनी क्रियाशील रहेको IDPL का प्रतिनिधि रमेश श्रेष्ठले जानकारी दिए।

विनोद कुकवेयरले ट्राईप्लाई प्रविधि, स्यान्डविच बटम, हार्ड एनोडाइज्ड र कास्ट आइरनजस्ता सामग्री प्रयोग गरी उच्च गुणस्तरका उत्पादनहरू तयार पार्दै आएको छ। विशेषगरी यसको कास्ट आइरन रेञ्ज, रासायनिक कोटिंगरहित र दुईपटक प्री–सीजन गरिएको संरचनाले स्वास्थ्य र टिकाउपनमा विश्वास बढाएको छ।

पूर्णिमा श्रेष्ठले मे २०२४ मा १३ दिनभित्र ३ पटक सगरमाथा चढ्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन्। उनी अहिलेसम्म पाँचपटक सगरमाथा तथा आठ वटा ८,००० मिटरभन्दा अग्ला हिमशिखरहरू सफलतापूर्वक आरोहण गरिसकेकी छन्। उनको आत्मबल, अनुशासन र समर्पणले नेपाली महिलाको दृढताको प्रतिक बनेको बताइएको छ।

ब्रान्ड र व्यक्तित्वबीचको यो सहकार्यले नेपाली उपभोक्ताबीच भावनात्मक सम्बन्ध विस्तार गर्ने कम्पनीको विश्वास छ। कम्पनीले उपभोक्तालाई गुणस्तर, स्वास्थ्यवर्धक र भरपर्दो उत्पादन प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ।