मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

आठ वर्षमा साठी किलोमिटर सडक  कालोपत्र

फाइल तस्बिर

झापा- कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका आठ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छभने २० किलोमिटरमा पेवर्स विछ्याएको छ ।

“सडक पूर्वाधारको विकासमार्फत कनकाईले काचुली फेरेको छ,” कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल भन्छन्–“स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो । यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माणका लागि बजेट कम गर्नु पर्ने अवस्था आएको छ ।”

सडक बनेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ । कनकाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीले आफ्नो वडामा ११ किलोमिटर सडक कालोपत्र भएको बताए । उनले भने,“ कनकाईले गरेको विकासबारे जानकारी लिन एकपटक यहाँ आउन मेरो आग्रह छ । ”

क्षेत्रफलका आधारमा जिल्लाको सबैभन्दा सानो नगरपालिका कनकाईको अमरपथ, लक्ष्मीमार्ग, पञ्चायत मार्ग, जनपथ, भृकुटी र लक्ष्मीपुर–घैलाडुब्बा सडक मुख्य सडक मानिन्छन् । अधिकांश प्रमुख सडक कालोपत्र भइसकेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कनकाईको जनसङ्ख्या ५३ हजार छ । कनकाई वडा नं. ३ सुरुङ्गामा पालिकाले रु. चार करोड ५० लाख २९ हजार ११२ को लागतमा आधुनिक कृषिबजार भवन निर्माण गरिरहेको छ । नगरले कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ । नगरमा १५ शय्याको अस्पताल  निर्माणाधीन छ । आगामी जेठ १५ मा अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

कनकाई नगरपालिका नेपालको पहिलो विद्युत चुहावटमुक्त, बन्द निषेधित र सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो । नगरमा कनकाई कोटीहोम, धनुषकोटी धाम, जामुनखाडी सिमसार, हेप्पील्यान्ड लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।