मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न  माग

सांकेतिक तस्विर

सिरहा- कञ्चनपुर–कमला सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत पर्ने सिरहाको लहानस्थित मुख्य बजार क्षेत्रको सडक निर्माण ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित बनेका छन् । तत्काल सडक निर्माणको माग गर्दै उनीहरूले पूर्व–पश्चिम लोकमार्गअन्तर्गतको लहान खण्डमा आज एक घण्टा चक्काजाम गरे । लहान बजार क्षेत्रको सडक दुई महिनादेखि धुलो र हिलोले भरिएको, साँघुरो ग्राभेल सडकले दुर्घटनाको जोखिम बढाएको र व्यापार–व्यवसायमा प्रतिकूल असर परेको स्थानीयको गुनासो छ ।

निर्माण छिटो सुरु नभए आन्दोलनलाई निरन्तरता दिने स्थानीयले चेतावनी दिएका छन्  । प्रदर्शनको अगुवाइ गर्नुभएका सत्यनारायण यादवले भने , “धुलो, हिलो र असहज यातायातका कारण जनजीवन कष्टकर बनेको छ । व्यापार चौपट छ । दबाब दिन आज साङ्केतिक रूपमा चक्काजाम गरियो, तर अब यसलाई क्रमशः तीव्र बनाउने छौँ ।”

सो सडक आयोजना पश्चिम खण्डका इञ्जिनियर सरोजकुमार कोइरालाका अनुसार लहानमा निर्माण भइरहेका ओभरपास, अन्डरपास र आकासे पुलका पाइल फाउन्डेसनजस्ता मुख्य संरचना निर्माण नगरी अन्य कार्य अघि बढाउन नसकिने भएकाले निर्माणमा ढिलाइ भएको हो । उनले दरबार होटेलदेखि पडरियासम्मको उत्तरतर्फको सर्भिस लेनको सबबेस निर्माण सम्पन्न भए पनि स्थानीयको अवरोध, नाला, खानेपानी पाइप र विद्युत् पोलका कारण नियमित निर्माणमा समस्या भइरहेको बताए । 

स्थानीयले सहजीकरण गरिदिएमा छिट्टै कालोपत्र गर्न सकिने उनले बताए ।