सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

गोरखा- रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका गोरखाका दुई जनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ । बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका भनिए पनि हालसम्म शवको सनाखत गर्न आफन्त नआएका प्रहरीले जनाएको हो ।   

गत असार २४ गते तिब्बतबाट कन्टेनरमा सामान ढुवानी गरिरहेका बेला अचानक भोटेकोशीमा बाढी आई कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए । पालुङ्टार–६ गोरखाका भनिएका विक र तामाङ रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकका रूपमा कार्यरत थिए ।

हाल विभिन्न व्यक्तिको शव फेला परिरहेको र मुचुल्का गरी रसुवा जिल्ला अस्पतालको शवगृहमा राखिएका छन्, तर शव सनाखत गर्न गोरखाका कोही सम्पर्कमा नआएपछि पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले बताए ।

शव सनाखत तथा दाबी गर्न कोही नआएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरिएको उनले जानकारी दिए ।