आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीपरिषद्मा रहेका केहि मन्त्रीहरुको सेटिङ बाहिर आएको भन्दै त्यसको छानविन गर्न माग गरे । कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको बिषय बाहिरिएको भन्दै छानबिन हुनुपर्ने उनले ।

त्यस्तै श्रेष्ठले भिजिट भिसा प्रकरणमा सदनमा निरन्तर आन्दोलन हुदा पनि भिजिट भिसामा मानवतस्करी गर्ने काम नरोकिएको भन्दै आक्रोश व्यक्त गरे । आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट थप पुष्टि भएको उनले बताए ।

श्रेष्ठले भिजिट भिसाको प्रकरणमा यसअघिको कार्यदलको रिपोर्ट दराजमा थन्किएर बसेको भन्दै अहिले बनाएको कार्यदलको पनि कुनै औचित्य नभएको उल्लेख गरे । उनले भिजिट भिसाको प्रकरणमा संसदीय समिति नवनेसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो । 

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले पनि भिजिट भिसाका नाममा निरन्तर मानवतस्करी भएको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकार डराएको बताए । उनले संसदीय समिति नभएसम्म आफुहरुको आन्दोलन जारी रहने जिकिर गर्नुभयो । त्यस्तै शाहीले केही महिना अघि खानेपानीमन्त्रीले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज नहुने प्रतिवद्धता जनाए पनि अहिले खारेज भएको भन्दै आपत्ति जनाए ।

उनले जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारवाही हुनुपर्ने उल्लेख गरे । श्रेष्ठ र शाहीले धारणा राखेपछि दुई दलका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।