हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

काठमाडौँ- श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोली आज प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश लिँदै थियो । स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहेका प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुवाटारबाट ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिइरहँदा खेलाडीहरू उज्वेकिस्तानबाट जोडिएका थिए ।
जितका लागि शुभकामना दिइसकेपछि प्रधानमन्त्री ओलीले खेलाडीको ध्यानाकर्षण गराउँदै हात हल्लाएर ‘हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट...’ भनेपछि उताबाट टिमका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ उठेर नमस्कार गर्दै हात हल्लाउन थालिन् । अरू खेलाडीले ताली बजाएर जितको शुभकामना ग्रहण गर्दै शुभकमनाप्रति आभार व्यक्त गरेका थिए ।
भर्चुअल रुपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबाट सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित भए ।
प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेकामा हर्षित प्रधानमन्त्री ओलीले आज राति सवा ९ बजे उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गरे ।
“देशको गौरव बढाउन तपाईंहरूले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु । नेपाली महिला फुटबलको ४० वर्षे सङ्घर्षपूर्ण इतिहासमा अर्को स्वर्णिम नतिजा प्राप्त हुनेछ । तपाईंहरूमा जितको मनोबल देखिएको छ । तपाईंहरूले जित्नैपर्छ । हामी जित्नेछौँ । यसलाई हामीले टर्निङ पोइन्टका रुपमा लिनेछौँ ।” खेलाडीलाई उत्साहित पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म तपाईंहरूको खेलसँगै हुनेछु । खेल क्षेत्रको विकासका लागि सरकारका तर्फबाट गरिनुपर्ने काम हुनेछ ।”
हालै सम्पन्न आफ्नो स्पेन भ्रमणका बेला रियल म्याड्रिडको रङ्गशालाको अवलोकन गरेको र मुलुकमा पनि त्यस्तै रङ्गशाला निर्माण कसरी सकिन्छ भन्ने सोचिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कम स्रोत, साधनबीच देशको खेलक्षेत्र सुदृढ हुँदै गएको बताए । उनले खेल क्षेत्र खर्च हुने क्षेत्रका रुपमा नभई आम्दानी गराउने क्षेत्रका रुपमा पनि लिइनुपर्नेमा जोड दिए ।
एन्फाका अध्यक्ष नेम्वाङले जितको शुभकामनाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सरकारले गर्ने पूर्वाधार विकासको प्रयासमा आफूहरूको साथ रहने विश्वास दिलाए । उनले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा रियल म्याड्रिडको रङ्गशाला अवलोकनमा गर्नु नेपाली खेल क्षेत्रको विकासप्रति प्रधानमन्त्रीको प्रतिविम्बित भएको र त्यसबाट आफूहरूलाई प्रोत्सहन मिलेको बताए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

प्रतिक्रिया