बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

काठमाडौँ- स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलले यही असार २०, २१ र २२ गतेका दिन अन्तरविद्यालय स्तरीय 'एसजीमुन ४.०' सम्मेलन आयोजना गर्ने भएको छ। राजधानी काठमाडौं तथा उपत्यका बाहिरका ४० भन्दा बढी विद्यालयका विद्यार्थी प्रतिनिधिहरू सहभागी हुने यस सम्मेलनमा ८ वटा विभिन्न समितिमा रहेर विश्वका समसामयिक र महत्वपूर्ण विषयमा गहन छलफल गरिने विद्यालयले जानकारी दिएको छ।

यस कार्यक्रममार्फत विभिन्न राष्ट्रहरूका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीहरूले विश्वका जटिल मुद्दाहरूको समाधान खोज्ने प्रयास गर्नेछन्। कक्षा १० का विद्यार्थीहरूद्वारा आयोजना गरिएको यो सम्मेलनमा महासचिवको भूमिकामा कक्षा १० का अधिश विनोद पोखरेल र उपमहासचिवको भूमिकामा कक्षा १० का जेनिथ कार्की रहने छन्।

विद्यालयकी प्रधानाध्यापक नेहा के.सीका अनुसार, “आजको सिकाई, भोलिको नेतृत्व” भन्ने उद्देश्यअनुसार विद्यार्थीलाई केवल कक्षाकोठा र पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक सिकाइतर्फ उन्मुख गराउने प्रयासस्वरूप  'एसजीमुन ४.०'  आयोजना गरिएको हो। उनले भनिन्, “यस सम्मेलनबाट विद्यार्थीहरूमा तर्कशीलता, समस्याको समाधान पहिल्याउने क्षमता, आलोचनात्मक सोच, फरक विचारलाई आत्मसात गर्ने अभ्यास, साथै विश्व राजनीति तथा अन्तर्राष्ट्रिय सम्मेलन कसरी सञ्चालन हुन्छ भन्ने ज्ञानको विकास हुने विश्वास लिएको छौं।”

 'एसजीमुन ४.०'  (Swastishree Gurukul Model United Nations) को चौथो संस्करणले विद्यार्थीहरूलाई विश्वस्तरीय विषयमा अन्तरक्रिया गर्ने र नेतृत्व गर्ने प्लेटफर्म उपलब्ध गराउने विद्यालयले जनाएको छ।