आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

काठमाडौं - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले युवाहरूलाई नेतृत्व हस्तान्तरण नगरेसम्म मुलुकको समृद्धि नहुने बताएका छन् । नेपाल विद्यार्थी संघद्वारा शनिबार अनामनगरमा आयोजित ‘कर्णालीदेखि काठमाडौंसम्म युवाको आवाज’ नामक कार्यक्रममा प्रमुख अतिथि रहेका बुढाले कर्णालीमा विकासका लागि प्रचुर सम्भावना रहेको बताए । यहाँ भएका हिमाल, जडिबुटी, गुफा, गुम्बा, मठ्मन्दिर, नदि, तालतलैया जस्ता सम्पदामा लगानी गरेर राज्यले ठुलो फाइदा लिन सक्ने उनको भनाइ छ ।

नेता बुढाले कर्णालीको विकासका लागि सबै एकजुट हुनुपर्ने जिकिर गरे । अहिले काङ्ग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको र यस्ता समुहलाई परास्त गरेर अघि बढ्न सकेमा मात्र विकास र समृद्धि सम्भव हुने उनले स्पष्ट पारे । यस्तै कार्यक्रमका संयोजक रहेका नेविसंघका केन्द्रीय सदस्य कविराज शाहीले विकासका अथाह सम्भावना भएको कर्णालीमा सरकारले ध्यान नदिएको बताए । यस कार्यक्रममार्फत आफुहरुले कर्णालीतर्फ सरकारको ध्यानकेन्द्रित गराउने जमर्को गरेको शाहीको भनाइ छ ।

उनले यो कार्यक्रम सुरुवात मात्रै भएको र आगामी दिनमा यस्ता गतिविधिहरुलाई निरन्तरता दिंदैजाने स्पष्ट पारे । साथै कर्णालीको विकासका लागि सरोकारवाला सबै निकायको ढोका ढक्ढक्याउने शाहीको भनाइ छ ।

इ.सन्तोष आचार्यले संचालन गरेको कार्यक्रममा गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघबाट निर्वाचित भएका कर्णालीका युवा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काङ्ग्रेसका महासमिति सदस्य कृष्ण रिजाल, नेविसंघ केन्द्रीय सदस्य तथा विधान समिति संयोजक एन पि आचार्य, कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानका पुर्व रजिस्ट्रार इ. विश्वराज काफ्ले, युवा नेता इ. नवराज त्रिपाठी र कर्णालीका स्थानीयहरु लगायतको उपस्थिति थियो ।