शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

भिरबाट लडेर महिलाको मृत्यु

गुल्मी- घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

आज दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न भनी जानुभएकी थापा साँझ अबेरसम्म घर नफर्केपछि परिवार र छिमेकीद्वारा उहाँको खोजतलास गरिएको थियो । खोजतालासका क्रममा उहाँको शव सोही सामुदायिक वनको कीराचौर भिरबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगेको थियो । मृतक थापाका दुई छोरा छन् भने श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा हुनुहुन्छ ।  थापाको शव परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएकोे बताउँदै प्रहरी नायब उपरीक्षक सारुले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।