शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

नेकपा एकीकृत समाजवादीले पार्टी पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालेको छ ।  शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

उनले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे । उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास रहेको धारणा दिए ।

त्यस्तै उनले  अध्यक्ष नेपालले पार्टी अध्यक्ष कै रुपमा काम गर्ने र संसदीय दलको नेताका बिषय भने दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाका बिषयमा विस्तृत रुपमा जानकारी गराएका थिए  । बैठकले उखु किसान उत्पादकलाई दिदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ । त्यस्तै धान रोपाइको समयमा मलको अभाव भएकाले यथासिघ्र मल बितरण गर्न माग गरेको छ भने मनसुनका समयमा हुन सक्ने बिपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न सरकारसँग माग गरेको प्रवक्ता ज्वालले बताए । बैठक पनि शनिबार निरन्तर चल्ने ज्वालाले बताए ।