बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

प्रतिनिधि सभाबाट बजेट पारित

प्रतिनिधि सभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गर्न राखेको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।

मंगलबार सभामा अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्च तर्फ ३ खर्ब ७५ अर्ब विनियोजन गरिएको छ । यो बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल बहिष्कार गरेका हुन् ।

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहममन्त्री रमेश लेखकको राजीनामा र यो विषयमा संसदीय छानबिन समिति गठनको माग राख्दै आएका छन् ।

त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन् । प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएका २३ सांसदका खर्च कटौतीका प्रस्ताव अस्वीकृत भए ।