सय जनालाई निःशुल्क प्राविधिक शिक्षा दिइरहेका छौँ

नेपालमा संघ, प्रदेश र स्थानीय गरी सरकारै सरकार छन् । सातवटा प्रदेश सरकार छन् भने सात सय ५३ वटा स्थानीय सरकार । संघीयताको मर्म आफूले छानेका प्रतिनिधिले घर-आँगनमै सेवा-सुविधाको प्रबन्ध गर्ने त हुँदै हो, यसले स्थानीय नागरिकका यावत् सवाललाई सके सम्बोधन गर्दै, नसके प्रदेश र संघतिर घचघच्याउँदै लैजाने पनि हो । सबै सरकारको मूल सरोकार नै नागरिकलाई आत्मविश्वासयुक्त, दक्ष र सबल बनाउनेतिर केन्द्रित हुनुपर्छ । हामी यस ‘संघीय-सूचक’ शृंखलामा स्थानीय सरकारका रूपमा रहेका देशभरका नगरपालिका-गाउँपालिकाहरूका मौलिक पहलकदमी प्रकाशन गर्नेछौँ । यसमा यहाँरूले सूचना, समाचार, सिफारिस तथा सल्लाह दिनसक्नु हुनेछ । पहिलो शृंखलामा प्रस्तुत छ, दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रयास । तुलसीपुर पालिकाले गत वर्षदेखि बहुप्राविधिक शिक्षालयका रूपमा तुलसीपुर मेट्रो कलेज सञ्चालनमा ल्याएको छ । कलेजका प्रमुख वसन्त आचार्यसित इकागजको कुराकानी :
कस्तो कलेज हो यो तपाईंहरूको ?
स्थानीय सरकारले प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेर सञ्चालन गरेको छ यसलाई । सामान्य आर्थिक अवस्था भएका नागरिकहरूको पहुँचभन्दा बाहिर रहेको प्राविधिक शिक्षालाई सबैको पहुँचमा पुर्याउन सकियोस् भनेर तुलसीपुर उपमहानगरपालिकाको अग्रसरतामा स्थापना गरिएको हो ।
कहिलेदेखि सुरु गर्नुभयो ?
गत शैक्षिक सत्रबाट अध्यापन सुरु भएको छ ।
के-के पढाउनुहुन्छ ?
सुरुमा वनविज्ञानको कक्षा मात्रै सञ्चालन भएको थियो । यस वर्षबाट कृषिविज्ञान, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी लगायतका विषयको अध्यापन भइरहेको छ ।
सम्बध्दता कता के-के हो नि ?
सीटीईभीटीको साझेदारीमा सञ्चालन भएका छन् । यसै वर्षबाट लुम्बिनी बौध्द विश्वविद्यालयसँगको सहकार्यमा बीएएलएलबी अध्यापनको पनि तयारी भइरहेको छ ।
वरिपरि अरूअरू शैक्षिक संस्था हुँदाहुँदै नगरपालिका आफैँ किन सक्रिय हुनुपर्यो ?
संघीयताले स्थानीय तहलाई स्थानीय सरकार बनाएको छ । सरकारका हिसाबले तहहरूले गर्ने कामको सूची निकै लामो छ । त्यसको कार्यान्वयनका लागि दक्ष जनशक्ति अहिलेको आवश्यकता हो । हामीकहाँ विकासका काम अगाडि बढाउन चाहिने प्राविधिक जनशक्तिको निकै अभाव छ । सबैको पहुँचमा नभएका कारण प्राविधिक विषय पढ्ने विद्यार्थीहरूको संख्या पनि निकै न्यून छ । अहिलेको आवश्यकतालाई सम्बोधन गर्न नै स्थानीय सरकारले यो कलेज सञ्चालनका लागि पहलकदमी लिएको हो ।
विकास भनेकै भ्युटावर, डोजर, कंक्रिट-पार्कतिरको भौतिक विकास हो भन्ने भइरहेका बेला किन यतातिर ?
सडक चिल्लो भएर र पुल बनेर मात्रै समृध्दि आउँदैन । त्यो सडक र पुल बनाउने दक्षता जब हाम्रो जनशक्तिमा विकास हुन्छ, अनि मात्र वास्तविक समृध्दि आउँछ । भौतिक विकास छानो हो भने शैक्षिक अर्थात् मानवीय विकास जग ।
कलेज खोल्न के-कस्ता समस्या सामना गर्नुपर्यो ?
मुख्य चुनौती भनेको शिक्षा ऐन निर्माणको अभाव हो । कक्षा १२ सम्मको अधिकार स्थानीय तहमा भए पनि त्यसपछिको शैक्षिक कार्यक्रम स्थानीय तहले सञ्चालन गर्न के गर्ने भन्नेबारे ऐन बन्न सकेको छैन ।
कानुनविनै कसरी निरन्तर होला त ?
प्रदेशले अझै पनि शिक्षा ऐनमा काम गर्न नसक्दा हामीलाई सोचेअनुसार कलेज सञ्चालन गर्न निकै गाह्रो भएको छ । तर पनि केही स्थानीय सरकारहरूले सञ्चालन गरेको कलेजको नजीरका आधारमा हामीले सञ्चालन गरेका छौँ । सीटीईभीटीसँग हामीले साझेदारीमा कार्यक्रम सञ्चालन गर्न खोज्दा स्थानीय सरकारसँग कसरी मिलेर कार्यक्रम सञ्चालन गर्ने भन्ने कुनै नीति नै बनेको थिएन ।
सडक चिल्लो भएर र पुल बनेर मात्रै समृध्दि आउँदैन । त्यो सडक र पुल बनाउने दक्षता जब हाम्रो जनशक्तिमा विकास हुन्छ, अनि मात्र वास्तविक समृध्दि आउँछ ।
बिस्तारै नीति बनाउँदै अगाडि बढेर हामीले सञ्चालन गर्यौँ । हामीले गरेपछि अहिले विभिन्न स्थानीय तहले यो काम अगाडि बढाएका छन् । शिक्षा क्षेत्रमा संघीयता आउन नसक्दा अहिले पनि धेरै समस्या हामीले झेल्नुपरेको छ ।
प्राविधिक शिक्षाको प्रबन्ध गर्नु महँगो पनि होला, कसरी मिलाइरहनुभएको छ ?
धेरै खर्चिलो हुने प्राविधिक शिक्षा कम शुल्कमा पढाउन अवश्य पनि धेरै चुनौती छन् । सामान्य ल्याबसमेत करोडौँ लगानीमा बनाउनुपर्ने अवस्था छ । सरकारले विद्यालय सञ्चालन गरेको अहिले पनि धेरैलाई मन परेको छैन । भौतिक विकासको काम मात्रै सरकारले गर्नुपर्छ भन्ने आम मान्यताका कारण एकैपटक ठूलो बजेट तर्जुमा गर्ने स्थिति छैन । सानो सानो रकमबाट काम गर्नुपर्ने हाम्रो बाध्यता एकातिर छ भने अर्कातिर अझै पनि अभिभावकलाई सरकारले सञ्चालन गरेको शिक्षालयप्रति खासै विश्वास देखिँदैन । तर यो हाम्रा लागि अवसर पनि हो ।
माथिदेखि तलसम्म शिक्षा क्षेत्र दलीयकरणले थिलथिलो भएको आमस्वीकार्य छ । सरकार भनेकै दलको आवधिक वैधता हो । कलेजमा दल विशेषको छायाँ नपर्ला भन्ने के ग्यारेन्टी ?
तपाईंले भनेको कुरामा धेरै सत्यता छ । हामीले शिक्षालय सञ्चालन गर्दा एउटा चुनौतीका रूपमा यसलाई पनि लिएका छौँ । संस्था कसले सञ्चालन गर्यो भन्दा पनि संस्थाको ऐन, कानुन, नीति, नियम र विधान के छ भन्ने कुरा महत्वपूर्ण हो ।
यो शिक्षालय अहिलेको यहाँको नेतृत्व नेकपाबाट मुक्त छ त ?
शिक्षालयमा हामीले एउटा विधि र पध्दति बसालेका छौँ । सञ्चालक समितिमा सबै आस्था, विचार र वर्गको प्रतिनिधित्व छ । कुनै पनि संस्थालाई व्यक्तिभन्दा पनि विधानले सञ्चालन गर्छ ।
हामीले निकै कम शुल्कमा शिक्षण गरिरहेका छौँ । तीन वर्षसम्म सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि एक लाख रुपैयाँ मात्रै हामीले शुल्क निर्धारण गरेका छौँ ।
न यहाँ अहिले नेकपा छ, न भोलि नेकपा वा अरू दल हुनेछ । अहिलेका वा पछि आउने नयाँ जनप्रतिनिधिले यति राम्रो शैक्षिक संस्थालाई बलियो र नमुना बनाउनेतिरै ध्यान दिनुहुनेछ ।
यो कलेजको पढाइ अरु यस्तै संस्थाभन्दा कसरी फरक छ ?
तुलसीपुर बहुप्राविधिक शिक्षालयलाई यस क्षेत्रकै नमुना क्याम्पस बनाउने योजनासाथ स्थापना गरिएको हो । पहिलो कुरा हाम्रो शिक्षालयले यस क्षेत्रमा अध्ययन-अध्यापन हुन नसकेका तर विद्यार्थीहरूले पढ्न चाहेका विषय अध्यापन गराउने गर्छ । हामीले सञ्चालन गरेको प्राविधिक विषयलाई बढीभन्दा बढी प्रयोगात्मक बनाउन विभिन्न परियोजनाहरू सञ्चालन गर्ने योजना बनाएका छौँ ।
जस्तै, कस्तो योजना ?
कृषि अध्ययनरत विद्यार्थीका लागि विभिन्न कृषि फार्म सञ्चालन गर्ने, वनविज्ञानमा अध्ययनरत विद्यार्थीलाई वनसम्बन्धी विभिन्न परियोजनामा संलग्न गराउने । यस्ता अनेक योजना हामीसँग छन् ।
उद्यमशील पुस्ता तयार भएन भन्ने बुझाइ हो, यहाँहरूको ?
पक्कै पनि । अहिले प्रदेश सरकारसँगको समन्वयमा हाम्रो स्थानीय सरकारले सञ्चालन गरेको भएकाले पनि हामीले विद्यार्थीलाई अध्ययनका साथै उद्यमशील बनाउने गरी कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।
यहाँ पढ्न कति महँगो छ ?
मैले अघि पनि भनेँ, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरेर यो शिक्षालय सञ्चालन गरिएको हो । हामीले निकै कम शुल्कमा शिक्षण गरिरहेका छौँ । तीन वर्षसम्म सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि एक लाख रुपैयाँ मात्रै हामीले शुल्क निर्धारण गरेका छौँ ।
विपन्नका लागि कम शुल्कसँगै निःशुल्क पढ्न पाउने पनि व्यवस्था गर्न सकिएन ?
गरिएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई स्थानीय सरकारले नै निःशुल्क अध्यापन गराइरहेको छ । यस उपमहानगरपालिकाभित्रका १९ वटै वडाका गरेर एक सय विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् । स्थानीय सरकारले लगानी गरेको हुनाले पनि यहाँ पढ्न शुल्कका हिसाबले खासै महँगो छैन । जुत्ता टल्काउने मात्रै होइन, चप्पल पड्काउनेका छोराछोरीहरू समेत यहाँ पढ्छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया