आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

फाइल तस्वीर

सूर्योदय नगरपालिका–१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ ।

“डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर राईले भने । ६० वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्छिन्, “पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।”

विसं २०७५ देखि सुरु गरिएको धजे-मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताए ।

जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइप लाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौ सय ४० उपभोक्ता लाभान्वित भएका छन् ।

शनिबार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बीच कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे । प्रदेशसभा सदस्य लिम्बूले सुक्खा क्षेत्रसम्म पानी ल्याउन अनेकौँ चुनौती झेलिएको उल्लेख गरे ।

“अब धजे-मकरजुङका बासिन्दाले शुद्ध पानी पाउनुभएको छ, खानेपानी हाहाकार अन्त्य भएको छ”, उनले भने । उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार योजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन थान ट्याङ्की निर्माण गरिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजना निर्माणले स्थानीयको समस्या समाधान भएको बताए । रासस