शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

सिरहा- यहाँको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ । 

विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो । उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो । 

निर्धारित समयसीमा अगाडीनै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिव शंकर महतो बताए । नगरभित्रका अन्य खानेपानीको आयोजनाहरु लामो समय व्यतित हुँदा निर्माणाधिन अवस्थामै जीर्ण हुँने गरेको जनाउँदै उनले भने,“मलाई त आश्चर्य लागेको छ । समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो । अन्य निर्माणाधिन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकरात्मक सन्देश दिएको छ ।” खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवित्तिले आम जनता वाक्क भएको अनुभूति आफूले गरेको उनको भनाइ थियो । 

यस खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्नका लागि ‘डावरटोल नैनपुर टोल खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ले  काम गरेको थियो ।  समितिका अध्यक्ष श्रवण ठकुरी भने “हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौँ ।

जेठबाटै परीक्षणका रुपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौँ । निरन्तरको सक्रियता, लगनशीलता र मिहिनेतले यो सम्भव भएको हो ।” कूल रु १० करोड छ लाख ५८ हजार लागत रहेको यस आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय ४७ घरधुरीका आठ हजार छ सय ४२ भन्दाबढी जनसंख्या लाभान्वित भएका जनाइएको छ । स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिनहरु अब सदाका लागि अन्त्य भएको छ ।