शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर क्षतविच्छेद, सवारी आवागमन ठप्प

बलेवा (बागलुङ)- बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो ।

चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए । करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् ।

कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए ।