बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

सांकेतिक तस्विर

दाङ- दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो । 

 “खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,” कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भन्नुभयो । त्यहाँका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । पुल बनेपछि वर्खामा पनि विद्यार्थी नियमित रुपमा पढ्न जाने गरेका  कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताउनुभयो । 

विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ । त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ । कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताउनुभयो ।  

अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको रु १८ लाख तथा स्थानीयको रु एक लाख २५ हजार बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।