मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार महासङ्घ’ विषयक अन्तरक्रिया गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आयोजना तथा बूढानीलकण्ठ नगरपालिकाको समन्वयमा आयोजित सो अन्तरक्रियामा स्थानीय सरकारले सूचना र सञ्चारका क्षेत्रमा गरिरहेको अभ्यासका विषयमा छलफल गरिएको थियो । 

नगर प्रमुख मीठाराम अधिकारीले पत्रकारहरूले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । उनले विगतको तुलनामा हाल विकास निर्माणसहित विभिन्न क्षेत्रमा सुधार भएको उल्लेख गर्दै मिडियाले समाचार प्रसारण प्रकाशन गर्दा पहिले र अहिलेको परिवर्तनलाई तुलना गरेर सकारात्मक सूचना प्रवाह गर्न आवश्यक रहेको बताए।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले सञ्चारसम्बन्धी नीति निर्माण गर्दा संविधानको मर्म र भावनाविपरीत हुन नहुने बताए। नगरपालिकाकी उपप्रमुख अनिता लामाले मिडियाले कसैलाई पनि देवत्वकरण नगरी सत्य सम्प्रेषण गर्नुपर्ने बताए। 

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले स्थानीय सरकार पारदर्शी, सञ्चारमैत्री र विकासमैत्री हुन आवश्यक रहेको धारणा राखे । महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले स्थानीय सरकारले नीति बनाएर भ्रामक सूचना सचेतनासम्बन्धी कार्यक्रम, सूचनाको हकको कार्यान्वयनलगायतका कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । 

कार्यक्रमका सहभागीले स्थानीय सरकारले मिडिया नीति बनाएर अघि बढ्नुपर्ने, स्थानीय तहका काम कारबाही पारदर्शी र सेवाग्राहीमुखी हुुनुपर्ने, सञ्चार नीति बनाउँदा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिए ।