मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

सांसद कालुराम राईले सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई समेत सम्बोधन गर्ने आएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिादै उनले बजेटले सबैलाई सम्बोधन गर्न सफल भएको दाबी गरे ।

“आगामी आवको बजेटमा वास्तवमा अर्थतन्त्र सुधार गर्ने खालको छ, बजेट राम्रो हुँदा पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, प्रभावकारी कार्यन्वयनका लागि सरकार सक्षम बनोस्,” राईले भने । यद्यपि बजेटमा अपाङ्गता भएका व्यक्तिले खेल्ने पारा खेलका लागि कुनै व्यवस्था नभएको समेत उल्लेख गरे ।

सांसद राजु थापाले बजेटको कार्यान्वयनको मुख्य चुनौती पुँजिगत खर्च भएको बताए । “बजेटलाई सफल बनाउन पुँजीगत खर्च बढाउनुपर्छ, कम्तीमा ९० प्रतिशतसम्म खर्च गर्न सकियो भने बजेट सफल हुन्छ”, उनले भने।

सांसद थापाले बजेटले आधुनिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राख्न्, दिगो विकास र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने उद्देश्य रहनु स्वागतयोग्य रहेको बताए।

सांसद प्रभु हजाराले विगतका वर्षभन्दा पनि आगामी आवको बजेटले मुलुकको आर्थिक अवस्थालाई सम्बोधन गरेको दाबी गरे । “बजेट राम्रो र पादरर्शी छ, बजेटले लिएका लक्ष्य पूरा गर्न सकिने खालका छन्”, उनले भने, “बजेटमा विगतका अधुरा योजना पूरा गर्ने लक्ष्य राखिएको छ, समृद्ध नेपाल र सुखी नेपाली लक्ष्यको प्राथमिकतामा बजेट प्रस्तुत भएको छ । स्वास्थ्य क्षेत्रमा विभिन्न खालको योजना राखिनु स्वागतयोग्य छ ।”

सांसद रामकृष्ण यादवले बजेट स्वागतयोग्य रहेको भन्दै समर्थन जनाए । “विगतक वर्षमा टुक्रे योजना धेरै समावेश भएका थिए । यसपालिको बजेटमा धेरै हदसम्म सुधार भएको देखिएको छ”, उनले भने ।

यादवले राष्ट्रिय गौरवाको आयोजनाका रुपमा रहेको १६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्ग बनाउन थप दुई वर्षको लक्ष्य लिए पनि लक्ष्य पूरा गर्न छट्याइएको बजेट अपुग भएको बताए ।

सांसद वासुदेव घिमिरेले नविन सोच र प्रविधिको प्रयोगसहित उद्योग, व्यापार, पर्यटन, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राख्दै मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धतासहितको बजेट आएको बताए । “सरकारले राजश्व सुधार र खर्च नियन्त्रणका लागि केही उपाय अवलम्बन गरेको छ तर अझै करको दर घटाइ दायरा बिस्तार गर्न जरुरी छ,” उनले भने ।

सांसद किरणकुमार साहले बजेटमा तराईका बाढी प्रभावित क्षेत्रको समाधानका लागि दीर्घकालीन योजना नदेखिएको भन्दै गुनासो जनाए । “तटबन्ध निर्माण, पूल निर्माण अधुरै छन्, ती छिटो निर्माण हुनुपर्छ,” उनले भने ।

सांसद रामहरि खतिवडाले बिग्रेको अर्थतन्त्रलाई लयमा ल्याएर बजेट प्रस्तुत गर्ने काम भएको बताए । “पर्यटनको सम्भावना रहेको क्षेत्र अधिक छन् त्यसलाई व्यवस्थित गरेर लानुपर्छ,” उनले भने । रासस