सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ- सङ्घीय सांसदहरूले सङ्घीयता कार्यान्वनसँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आज यहाँ आयोजना गरेको ‘कानुन निर्माणमा सङ्घीय संंसद्, प्रदेशसभा र स्थानीय तहबीचको समन्वय र सहकार्य’ का विषयमा सरोकार भएका निकायसँगको छलफलमा सहभागीले सङ्घीयता कार्यान्वनसँग सम्बन्धित कानुन निर्माणमा ढिलाइ गर्न नहुने धारणा राख्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सङ्घीयतासँग जोडिएका निजामति, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित कानुन निर्माणमा सरकार र संसद्ले ढिलाइ गर्न नहुने बताउनुभयो । पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका शाहीले प्रदेश र स्थानीय तहले पाउनुपर्ने कतिपय अधिकार सङ्घीय सरकारले राखेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपय अधिकार सङ्घ मातहत हुँदा प्रदेश र स्थानीय तह अधिकारबाट बञ्चित छन् । यातायातसम्बन्धी अधिकार प्रदेश सरकारलाई हुँदा राइड शेयरिङगमा सङ्घीय सरकारले हस्तक्षेप गरेको छ ।”
राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउने व्यवस्थामा जानुपर्ने बताउँदै उहाँले विषयविज्ञको आधारमा राजनीतिभन्दा बाहिरबाट मन्त्रिपरिषद् गठन गर्नुपर्नेमा जोड दिनुभयो । “सङ्घीयतासँग जोडिएका कानुन निर्माणमा ढिलाइ भने भइसकेको होइन । तर अब पनि ढिलाइ गर्न हुँदैन”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद ईश्वरी घर्ती मगरले पछिल्लो समय कानुन निर्माणले तीव्रता पाएको उल्लेख गर्दै संवैधानिक व्यवस्था कार्यान्वयनका लागि बन्नुपर्ने कानुन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घले कानुन नबनाउँदा तल्लो तहमा समस्या भएको छ तर एकल कानुन प्रदेश सरकार र स्थानीय तहले पनि बनाएका छैनन् । तीन तहका सरकार जिम्मेवार बन्ने हो भने दुईदेखि तीन वर्षसम्ममा कानुन बन्न सक्छन्, हरेक विधेयक कार्यान्वयन गर्न बजेटको अभाव भइरहेकाले पनि कानुन निर्माणमा समस्या भइरहेको छ ।”
राष्ट्रियसभाका सांसद जयन्तीदेवी राईले भन्नुभयो, “गैरसरकारी विधेयक पारित हुँदैनन् । मन्त्री नभई छलफल गर्न मिल्दैन, मन्त्री भएपछि समय अभाव हुन्छ, त्यसैले कानुन निर्माणमा ढिलाइ हुने गरेको छ ।” राजनीतिक दलका नेता तथा सांसद कानुन निर्माणभन्दा पनि सरकार बनाउने र ढाल्ने प्रक्रियामा बढी सक्रिय हुँदा समस्या भएको उहाँको भनाइ छ ।
विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कमलादेवी पन्तले संविधान लागू भएको तीन वर्षभित्रमा कानुन बनाइसक्नुपर्ने भए पनि दश वर्षसम्म मौलिक हकसम्बन्धी कानुन बन्न नसकेका बताउनुभयो ।
उहाँले भन्नुभयो, “योजना प्रदेश सरकारलाई हस्तान्तरण गरियो, तर बजेट हस्तान्तरण गरिएन, कानुन निर्माणमा सरकार जिम्मेवार हुनुपर्छ । सांसदले हतार गर्नुभन्दा पनि सरकारले पहलकदमी गर्नुपर्छ । सरकारले अहिले संशोधनमा ध्यान दिइरहेको छ, नयाँ कानुन निर्माणमा लागेको छैन ।
---

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

‘बजेटमा आर्थिक अनुशासन आवश्यक छ’

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

प्रतिनिधिसभाको बैठक, बजेट माथी छलफल जारी रहने

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

प्रतिक्रिया