विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा लाग्न सबै सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराको २४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले गण्डकी प्रदेश उच्च विपद् जोखिमयुक्त स्थल भएकाले सम्भावित जोखिमको प्रतिकार्यका लागि तयारी हुनुपर्नेमा जोड दिए ।
यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वअनुमान गरिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसतर्फ बेलैमा सचेत बन्नु जरुरी रहेको बताए । उनले सरोकार भएका निकायसँग सहकार्य र समन्वय गर्दै मनसुनजन्य विपद् प्रतिकार्यका लागि कार्ययोजनाका साथ लाग्न सबै सुरक्षा निकायलाई निर्देशन दिए ।
अन्तरराष्ट्रिय सीमासुरक्षासँगै विपद् व्यवस्थापन, राजस्व, भन्सार तथा औद्योगिक सुरक्षालगायत सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको मुख्यमन्त्रीले प्रशंसा गरे । सीमित साधनस्रोतका बाबजुद विपद् प्रतिकार्यमा प्रदेश सरकारले सुरक्षा निकायलाई सहयोग गर्दै आइरहेको उनले बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले देशमा शान्ति सुरक्षाको स्थापनासँगै विपद् उद्धरलगायत क्षेत्रमा सशस्त्र प्रहरी बलले महत्त्वपूर्ण योगदान गर्दै आएको बताए । असीमित आवश्यकता र सीमित साधनस्रोतका बीचबाट प्रभावकारी सेवा प्रवाहमा प्रदेश सरकार अघि बढेको उनको भनाइ छ ।
उक्त अवसरमा मुक्तिनाथ बाहिनीलाई विभिन्न रूपमा सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, विभिन्न विधामा पुरस्कृत हुने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
उनीहरूलाई मुख्यमन्त्री पाण्डेसहित पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पौडेल, मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाहलगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । रासस

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

प्रतिक्रिया