आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् । 

नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताए । मर्मत गर्नका लागि काठमाडौँबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनले बताए ।

“इञ्जिनियरहरूलाई बोलाएको हो”, उनले भने, “तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।” डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ । 

घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताए । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको उनले बताए । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।