शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

काठमाडौं- माँ भाटभटेनी संस्थाले आयोजना गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन समारोह बागमती प्रदेशका माननीय राजेन्द्र प्रजापति ज्यूको प्रमुख आतिथ्यतामा काठमाडौंको चाबहिल स्थित एस आर ब्याक्वेटमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथि रूपमा माननीय सरिता खड्की,बागमती प्रदेश सामाजिक विकास कार्यालयका प्रमुख नवराज नेपाल, सुजाता राई, संस्थाकी अध्यक्ष मधु कुमारी थापा श्रेष्ठ, सचिव तथा कार्यक्रम संयोजक सबिना प्रजापति लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ती बालेर तथा बेकरी तालिम प्राप्त विद्यार्थीमार्फत तयार गरिएको केक काटेर गरिएको थियो। कार्यक्रमको सुरुवातमा संस्थाका सदस्य चन्द्र बलामीले स्वागत मन्तव्य दिए। कार्यक्रममा अचार, साबुन निर्माण तथा उद्घोषण तालिम लिएका प्रशिक्षार्थीहरू र तिनका प्रशिक्षकहरूलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो।

सो अवसरमा माननीय राजेन्द्र प्रजापतिले संस्थाले सञ्चालन गरिरहेका सीप विकास तालिमहरूको प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई आवश्यक बजेट तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। माँ भाटभटेनी संस्थाले हालै सम्पन्न तालिममा अचार निर्माण तालिममा ६० जना, उद्घोषण तालिममा ४० जना, र एक महिनाको बेकारी तालिममा ३० जना सहभागीलाई प्रशिक्षण दिएको थियो।

उद्घोषण तालिमका प्रशिक्षक राज घिमिरे (गोपाल) ले आफ्नो अनुभव गर्नुभयो भने अचार तालिमकी प्रशिक्षक कविता खड्काले पनि आफ्नो अनुभव सुनाउँदै “आमा” शीर्षकको कविता प्रस्तुत गरे । कार्यक्रममा अतिथि तथा सहभागीहरूले माँ भाटभटेनी संस्थाले गरिरहेका सामाजिक रूपान्तरणमुखी प्रयासहरूको खुलेर प्रशंसा गरे र यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्न सुझाव तथा समर्थन व्यक्त गरे। अन्त्यमा, सहभागीहरूलाई स्वयं तयार पारेको साबुन, अचार र हार्पिक वितरण गरियो। कार्यक्रमको सञ्चालन माँ भाटभटेनी संस्थाकी सचिव सबिना प्रजापतिले गर्नुभएको थियो भने समापन संस्थाकी अध्यक्ष मधु कुमारी थापा श्रेष्ठले गरेका थिए ।