शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

दुर्घटना भएको ‘ड्रिमलाइनर’ : लामो दूरीका लागि ख्याति कमाएको अमेरिकी कम्पनीको नमूना विमान

भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको नमूना भएको बताइएको छ ।

इन्धन–कुशलमा निपूर्ण यो विमान सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेको थियो । यसपछि विश्वका ८० भन्दा बढी एअरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।

यसको वाइड–बडी र हल्का संरचना छ । यसैका कारण याे विमान विश्वभर लोकप्रिय मानिन्छ । यसले पुरानो, सोही आकारका यात्रीविमानहरूले भन्दा लामो दूरीमा २० प्रतिशत कम इन्धन खर्च गर्ने कम्पनीले दाबी गरेको छ ।

यो ‘पोइन्ट–टू–पोइन्ट’ सेवाहरूका लागि प्रयोग गर्न सकिन्छ, यसको अर्थ यो भारी विमानद्वारा प्रयोग गरिएको ‘हब’ प्रणालीमा निर्भर हुनुको सट्टा गन्तव्यमा सीधा उडान गर्न सक्छ ।

बोइङका अनुसार ७८७ को प्रयोगले १८० वटा ’पोइन्ट टु पोइन्ट’ रुट खोलेको छ ।

हाल तीन संस्करण

हाल ७८७ का तीन संस्करण छन् । बोइङको ७८७–८ले १३ हजार ५३० किलोमिटर (८,४०० माइल) सम्मको दूरीमा २४८ यात्रुहरू बोक्न सक्छ भने ७८७–९ ले १४ हजार १० किलोमिटर सम्म २९६ यात्रुहरू बोक्छ र ७८७–१० ले ११ हजार ९१० किलोमिटरसम्म ३३० यात्रुहरूलाई बोक्न सक्छ ।

भारतको अहमदाबादमा २४२ यात्रु र चालक दलका सदस्य लिएर उडेको बिहीबार दुर्घटनाग्रस्त विमान ७८७–८ संस्करण थियो । उक्त विमान लण्डनका लागि उडेको थियो तर पश्चिमी भारतीय सहर अहमदावादबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।

बोइङले विमान दुर्घटनाबारे आफू जानकार रहेको र थप जानकारी सङ्कलनका लागि काम गरिरहेको जनाएको छ ।

यो ७८७ ड्रिमलाइनरको पहिलो घातक दुर्घटना रहेको बताइएको छ ।

बोइङलाई झट्का

सन् २०२१ देखि २०२३ को बीचमा बोइङको विमानको कार्यक्रमले पटक–पटक र महँगो ‘डेलिभरी सस्पेन्सन’ लगायत थुप्रै असफलता भोगेको थियो ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उत्पादन लाइनहरूमा गुणस्तर आश्वासन जाँच र निरीक्षणलाई सुदृढ पार्न काम सकिसकेको छ ।

यसै वर्षको अप्रिलमा एफएएले बोइङलाई एक महिनामा सातवटा विमान बनाउनका लागि आफ्नो उत्पादन गति बढाउन अनुमति दिएको थियो ।

बिक्रीको मामिलामा बोइङले व्यापक कठिनाइहरूको सामना गरिरहेको छ ।

बेइजिङबाट सकारात्मक सङ्केत आएपनि एक महिनाअघि वाशिङ्टनले सुरु गरेको व्यापार युद्धका कारण चिनियाँ एअरलाइन्सलाई कम्पनीसँग काम गर्न अस्थायी रूपमा रोक लगाएपछि निर्माताले मे महिनामा चीनलाई कुनै पनि विमान आपूर्ति गरेको छैन । –रासस