बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताएका छन्।
बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए)द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ। मलाई गाह्रो हुन्छ। म उनीहरु सधैँ मुस्कुराइरहुन् भन्ने चाहन्छु। सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न तथा शासकहरुलाई सुनाउन पाउँदैनथे। आज म प्रधानमन्त्रीका रुपमा बालबालिकाका कुरा सुनिरहेको छु।’
बालबालिकाका समस्याका कुरा सुनेपछि भावुक हुँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनुहुँदैन। उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्छ। हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरु जारी रहनेछन्।’
आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
‘मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु। देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिपरेका छौँ। सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागिरहेको छ। पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौँ’, उनले भने, ‘बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुपर्छ।’
प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सामूहिक रुपमा चिठी बुझाएका थिए।
कार्यक्रममा एनसिपिएका पूर्वअध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताए। राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसिजी–नेपाल) का सहअध्यक्ष नरेन्द्र डंगोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुुनुपर्नेमा जोड दिए।

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया