शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

गोदावरी– कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ । बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । 

कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायत स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले जनाएको छ ।

गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिका पहिरोको जोखिममा रहेका जनाउँदै टीकापुर नगरपालिका, जानकी र कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिका बाढीको उच्च जोखिममा रहेका कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपतकालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको प्रमुख साहले बताए। विपद् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष पूर्वतरिकासहित आवश्यक सूचना प्रवाह भइरहेकाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।