चितवनमा गर्मीको असर : ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले

चितवन- जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार बुधबार चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने मंगलबार दिन यो तापक्रम ३९ डिग्री पुगेको थियो ।
गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ । गर्मीका कारण यहाँका कतिपय स्थानीय निकायले विद्यालय बन्द गरेका छन् । दिउँसो सडक र बजार सुनसान देखिन थालेका छन् । विशेषगरी वृद्ध, बालबालिका र बाहिर खटिने श्रमिकमा यसको असर बढी परेको छ ।
भरतपुर महानगरपालिका वडा १०स्थित चौविसकोठीको सडक छेउमा पचपन्न वर्षीया चन्द्रकुमारी पुनमगर मकै पोलेर बिक्री गर्ने काम गर्छिन् । उनी भन्छिन्, “दिनभर घाम र आगोका बीचमा बस्नुपर्छ, शरीर नै सिथिल हुन्छ । ग्राहक नै छैनन्, अहिले रु ५० मा एक घोगा मकै पनि बेच्न गाह्रो भएको छ ।” सडक सुनसान भएकाले पैदलयात्री र ग्राहकको सङ्ख्या घटेको देखिन्छ ।
सोही स्थानमा भेटिएका अटो चालक खलबहादुर मगरको कुरा पनि यस्तै छ । उनी भन्छन्, “रिक्साको छत र सडक दुवैको रापले काम गर्न मनै लाग्दैन । तर के गर्ने, घर चलाउनु नै छ । अहिले मान्छे हिँड्नै छाडे जस्तो छ ।”
त्रिचोकतर्फबाट पैदल आउँदै गरेका ४८ वर्षीय भगवान् शाहीले त गर्मीले थाकेर समयमै काममा पुग्न नसकेको गुनासो गर्छन् ।
“गर्मीले हिँड्नै सकिएन । केही दिनदेखि समयमा काममा पुग्न सकिएको छैन”, उनले भने, “अब त गर्मीमा हिँड्दा दुई जोर कपडा लिएर हिँड्नुपर्छ, पसिना भिजेपछि फेर्न ।”
गर्मीका कारण स्वास्थ्यमा पनि असर देखिन थालेको छ । अस्पतालमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको भरतपुर अस्पतालका फिजिसियन डा गोविन्द कँडेलले बताए ।
उनका अनुसार अत्यधिक गर्मी र हावामा आद्रता धेरै हुँदा पसिना नआउने समस्या हुन्छ, जसले गर्दा शरीरको भित्री तापक्रम अत्यधिक बढ्छ । यस्तो अवस्था गम्भीर ‘हिट स्ट्रोक’मा परिणत हुन सक्छ । अहिले चितवनमा दुई जना व्यक्तिलाई हिट स्ट्रोक भएको पुष्टि भएको समेत उनले बताए । तीमध्ये एक जना चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारपछि निको भएर फर्किसकेका छन् ।
त्यसैगरी, गर्मीमा दम, छातीका रोगी र सङ्क्रमणजन्य रोग पनि सक्रिय हुनसक्ने उनले बताए । अहिले झाडापखाला र बान्ताका बिरामी केही देखिए पनि मुख्य रूपमा टाइफाइड र ज्वरोका बिरामी बढी देखिन थालेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका केही पूर्वी भागमा वर्षा भइरहेको छ भने चितवनजस्ता स्थानमा हावामा पानीका कण धेरै भएकाले तापक्रम कम भए पनि आद्रताका कारण मानिसले बढी जस्तो महसुस गर्ने अवस्था हुन्छ । यसलाई प्राविधिक भाषामा ‘फिल लाइक टेम्परेचर’ भनिन्छ ।
फिजिसियन डा कँडेलले दिउँसोको समयमा अत्यधिक गर्मी हुँदा बाहिर काम नगर्न, सकेसम्म घरभित्र वा छायाँमा बस्न, नियमित पानी पिउनु र शरीरलाई हाइड्रेटेड राख्नु अत्यावश्यक भएको बताउँछन् । उनले लामो बाहुला भएको कपडा लगाउने र कीरा–सर्पबाट जोगिन मोजा तथा जुत्ता लगाउनुपर्ने सुझाव दिएका छन् ।
मौसमविद लामिछानेका अनुसार आज रातिबाट वर्षाको सम्भावना बढ्दै गएको छ । यसले तापक्रम केही घटाउने आशा गरिएको छ । तापक्रम अझै केही दिन उच्च नै रहने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । रासस

यस्तो छ सत्ता र प्रमुख विपक्षीबीचको २ बुँदे सहमति

कहाँ-कहाँ हुँदैछ वर्षा ?

प्रधानमन्त्रीलाई १९ बालश्रमिकको पत्र भन्छन् : बालश्रम अन्त्य गरिदिनुस्

यस्तो हुनेछ आज दिनभरको मौसम

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

१० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रियो

प्रतिक्रिया