बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

अनेरास्ववियु महाधिवेशन : सचिव पदमा रेखा न्यौपाने बलियो दाबेदार

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) को २४औं राष्ट्रिय महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौंमा जारी छ। महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सोहीअनुसार सचिव पदका लागि हिजो (जेठ २७) उमेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ। आजको निर्धारित कार्यतालिका अनुसार मतदान हुँदैछ, जहाँ ४० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।

कडा प्रतिस्पर्धाबीच पनि सचिव पदमा नेतृ रेखा न्यौपाने बलियो दाबेदारका रूपमा देखिएकी छन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएकी न्यौपानेले संगठनको जरा तहदेखि केन्द्रीय तहसम्मको नेतृत्व अनुभव आर्जन गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सचिव पदका लागि आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी थिइन्।

२०६८ सालमा मात्र १५ वर्षको उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी रेखाले सम्पर्क समिति, राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्ममा जिम्मेवारी सम्हाल्दै आएकी छन्। हाल उनी अनेरास्ववियु केन्द्रीय कमिटी सदस्यको भूमिकामा छन्। उनका पिता नेकपा एमालेका संस्थापक तथा वरिष्ठ नेतामध्ये एक भएका कारण राजनीतिक वातावरण र प्रेरणाले उनको चेतना र प्रतिबद्धतालाई अझ सुदृढ बनाएको देखिन्छ।
महाधिवेशनमा नेतृत्व हस्तान्तरणबारे व्यापक छलफल चलिरहेको बेला रेखा न्यौपानेको सांगठनिक क्षमता, लामो अनुभव र विद्यार्थीबीचको लोकप्रियताले उनलाई सचिव पदको दौडमा अग्रपंक्तिमा पुर्‍याएको छ। मतदानको समय नजिकिँदै गर्दा संगठनभित्र रेखा प्रति समर्थन अझ व्यापक बनिरहेको देखिन्छ।