बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

राजेश हमालको पुस्तक 'युगदेखि युगसम्म' सार्वजनिक हुँदै

काठमाडौँ- अभिनेता राजेश हमालको जीवनसँग जोडिएका विभिन्न पक्षहरू समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ बजारमा आउने भएको छ । फाइन फ्रिन्टले बजारमा ल्याउन लागेको पुस्तकमा हमालका जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको छ । पुस्तक आउँदो भदौमा सार्वजनिक हुने भएको हो ।

प्रकाशक फाइनप्रिन्टका अनुसार आउँदो भदौको दोस्रो सातासम्म पुस्तक सार्वजनिक हुनेछ । अभिनेता हमालको जन्मदिनको अवसरमा सोमबार राजधानीमा पुस्तकको आवरणसमेत अनावरण गरिएको थियो । एक कार्यक्रमका बीच अभिनेता हमाल र प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा पुस्तकको आवरण अनावरण गरे ।

कार्यक्रममा भारीले बहुप्रतीक्षित एवम् महत्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक युगदेखि युगसम्म प्रकाशन हुन लागेको बताए । हमालको पुस्तक प्रकाशन गर्न पाउँदा आफूहरू हर्षित भएको बताए ।

उनले भने, 'यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई दसैँको कोसेली होस् भन्ने हाम्रो अभिप्राय छ । यो पुस्तक प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो ।’

पुस्तकमा हमालको ३५ वर्ष लामो चलचित्र जीवन, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय समेटिएको छ । लेखक तथा पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार गरिएको हो ।