बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१ बन्साहका गणेश पन्तको घरमा आज दिउँसो आगलागी हुँदा रू १५ लाख बढीको क्षति भएको छ । भान्साकोठामा खाना पकाउन राखिएको ग्यास चुहावट भई आगलागी भएको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आगलागीबाट घरभित्र र पसलभित्र राखिएको नगद रु एक लाख १० हजार, सुन, लत्ताकपडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायतमा गरी रु १५ लाखको क्षति भएको छ । 

आगलागी भएको जानकारी पाइएपछि नगरपालिकाको दमकलको सहायताले प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले आगलागीमाथि नियन्त्रण गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । समयमै आगलागी नियन्त्रण हुँदा मानवीय, पशुचौपायामा क्षति हुन नपाएको उनले बताए ।

 वडा अध्यक्ष उत्तरदेव भट्टका अनुसार आगलागी पीडित परिवारलाई वडाका तर्फबाट चामल, नुन तेल, दाल, चाउचाउ, भुजालगायत गरी रु पाँच हजार बरावरको सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीसँग समन्वय गरिएको उल्लेख गर्नुहुँदै उहाँले भाँडाकुँडा, लत्ताकपडा उपलब्ध गराउनका लागि पहल गरिएको बताउनुभयो । अहिले घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।  
---