शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

रामेछापमा फौजी कीराको प्रकोप

मन्थली (रामेछाप)- जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।

सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ ।

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी कीराले दुःख दिने गरेको हो । उक्त कीरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका–७ की किसान सरिता ढुङ्गेलले बताइन् ।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलका अनुसार, फौजी कीराले मकैबालीलाई दुःख दिएको जानकारी आफूलाई भएकाले पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहे पनि नियन्त्रणका लागि निकै समस्या छ । रासस