शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

प्रतिनिधिसभा बैठक १ बजे, छाडेका छैनन् सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । 

बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक दिउँसो ३:१५ बजे बस्ने गरी समय सारे पनि बैठक बस्न सकेन । 

हिजो संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो ३:१५ बजेका लागि सरेको जानकारी दिएको थियो । तर, त्यसमा पनि सहमति नभएपछि बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । 

भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृहमन्त्रीले संसदमा बोल्नु पाउनुपर्ने अडान राखिरहेका छन् ।

सहमति जुटाउनका लागि हिजो सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकिरहेको छैन् ।

आजको बैठक पनि प्रतिपक्षहरूले अवरोध गर्ने तयारी गरिरहेका छन् ।