शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

मधेस प्रदेशसभा बैठक स्थगन

 विपक्षी दलको अवरोध र विरोधका कारण मधेस प्रदेशसभा बैठक आज सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गर्नुभएको हो ।

जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभएको थियो । उहाँले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध  जारी राख्ने बताउनुभयो । 

यसअघि प्रदेशसभा सञ्चालनका लागि सभामुख मण्डलले आज तीन घण्टा छलफल गर्नुभएको थियो । तर छलफलबाट सकारात्मक निष्कर्षमा पुग्न नसकेपछि प्रदेशसभा सञ्चालन भएको थियो ।